
काठमाडौं । राष्ट्रपति निर्वाचित रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको शपथग्रहण गर्दैछन् । राष्ट्रपतिमा निर्वाचित पौडेलले शपथ ग्रहणपछि आजै पदभार ग्रहण गर्ने कार्यक्रम छ ।
निर्वाचित राष्ट्रपति पौडेलको शपथग्रहणका लागि राष्ट्रपति भवनमा विशेष समारोहको तयारी गरिएको छ । मुलुकको तेश्रो राष्ट्रपति निर्वाचित पौडेलले आज राष्ट्रपति भवनमा पद तथा गोपनीयताको सपथग्रहण गर्ने कार्यतालिका तय भएको हो ।
कार्यतालिका अनुसार राष्ट्रपति कार्यालय शितलनिवासमा दिउँसो १ बजे विशेष समारोहमा आयोजना गरिने भएको छ । संवैधानिक व्यवस्था अनुसार नवनिर्वाचित राष्ट्रपति पौडेललाई कायम मुकायम प्रधानन्यायधिश हरिकृष्ण कार्कीले शपथ गराउने छन् ।
शपथग्रहण लगत्तै नवनिर्वाचित राष्ट्रपति पौडेलले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । शपथ र पदभार ग्रहण गरेसँगै राष्ट्रपतिमा निर्वाचित भएका पौडेल निजी निवास बोहराटारबाट शिलत निवास सर्ने छन् । फागुन २५ गते राष्ट्रपतिका लागि भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार ल्याएर मुलुकको तेस्रो राष्ट्रपति बनेका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार नवनिर्वाचित राष्ट्रपतिले पदभार ग्रहणपछि निवर्तमान हुने राष्ट्रपति विद्यादेवी भण्डारीले करिब साढे १ बजे राष्ट्रपति भवन छोड्नु हुनेछ । राष्ट्रपति भण्डारी शीतलनिवासबाट बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित निजी निवासमा सर्ने छन् ।
उनी दुइ कार्यकाल गरी करिब साढे सात वर्ष राष्ट्रपति भइन् । भण्डारी २०७४ साल फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिइन । २०७२ साल कात्तिक ११ गते पहिलो पटक राष्ट्रपति बनेकी उनी २०७४ सालमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी थिइन ।