बालकृष्ण छुटेर टोपबहादुर नछुटेकामा ओलीको आपत्ति, अदालतमाथि गम्भीर आरोप

बालकृष्ण छुटेर टोपबहादुर नछुटेकामा ओलीको आपत्ति, अदालतमाथि गम्भीर आरोप

विराटनगर । एमाले अध्यक्ष केपी ओलीले उच्च अदालत पाटनको आदेशमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण रिहा भएकामा आपत्ति जनाएका छन् । काँग्रेस भएकै कारण खाण जेलमुक्त भएको तर एमाले भएका कारण टोपबहादुर रायमाझीलाई एउटै मुद्धामा थुनिएकोमा ओलीले आक्रोश पोखे ।

पार्टीद्वारा सञ्चालित मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानअन्तर्गत शनिबार पाँचथरको फिदीममा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले रायमाझीको नाम उल्लेख नगरी ओलीले एमाले भएकै कारण पूर्वग्रह राखेर थुनामुक्त नगरिएको आरोप लगाए ।

ओलीले सशस्त्र प्रहरीका असई थमन विक हत्या आरोपमा फरार रहेका निलम्बित एमाले सांसद लक्ष्मी महतो कोइरीले महोत्तरी जिल्ला अदालतबाट सफार्इ पाएकामा भने खुसी व्यक्त गरे । ‘हामी अहिले सरकारका छैनौं । अनेक मुद्दा लगाएर एक जना साथीले अस्तिका दिन मात्रै बल्ल सफाइ पाउनुभयो’, ओलीले भने ।

सात जनालाई जन्मकैद फैसला सुनाए पनि कोइरीलाई भने अदालतले सफाई दिएको थियो । काँग्रेस नेता खाण छुटेको तर रायमाझी थुनामै रहेकामा ओलीको आपत्ति थियो । ‘हाम्रो साथीहरूलाई जेलमा राखिएको छ । कांग्रेस भयो भने छुट्छ । कांग्रेस भयो भने त्यही विषयको मन्त्री भए पनि छुट्छ’, ओलीले भने, ‘तर, एमालेमा लागेको छ भने रिसले कोही मान्छे छुट्दैन । यस्तै छ ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता खाणलाई उच्च अदालत पाटनले ३० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । जिल्ला अदालत काठमाण्डुमा ३० लाखको बैंक ग्यारेण्टी र सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख धरौटी बुझाएर खाण शुक्रबार रिहा भइसकेका छन् ।

ओलीले अदालतमा राजनीतिक नियुक्ति भएका कारण इन्साफ नहुने अवस्था आएको आरोप लगाए । ओलीले काँग्रेसको कानून फाँट हेर्ने नेता न्यायाधीश नियुक्त हुने भएकाले न्याय नपाइने अवस्था रहेको बताए । ‘कांग्रेसको कानूनी फाँटको नेता न्यायाधीश नियुक्ति हुन्छ अनि इन्साफ कहाँबाट हुन्छ ?’, ओलीले भने ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com