
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतासँग निर्वाचनको बेला गरिएका सुशासन र समृद्धिका साझा प्रतिवद्धताहरु पूरा गर्न सबै राजनीतिक दलहरुलाई एकठाउँमा उभिन आह्वान गर्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहनुभएका प्रचण्डले सोमवारबाट शुरु भएको प्र्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै राजनीतिक दलहरु सामु जनताको अपेक्षा, गुनासो, चासो र चिन्तालाई तत्काल सम्बोधन गर्दै अघि बढ्नुको विकल्प नभएको पनि स्पष्ट पार्नुभयो ।
जनताले आफूहरुलाई सुशासन र समृद्धिको शर्तसहित निर्वाचित गराएको उल्लेख गर्दै उहाँले त्यसलाई सार्थक बनाउन संसदलाई परीक्षा केन्द्रको रुपमा लिनुपर्ने बताउनु भयो ।
प्रचण्डले जनताको निरन्तर निगरानीमा रहेको तथ्यलाई नभुली जनताको अपेक्षा पूरा गर्न नयाँ संसद सफल हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री दाहालले प्रतिक्रियाको नभई क्रियाको राजनीति गरेर मात्रै आफूहरुले मुलुकमा देखापरेका समस्याहरुको समाधानको सूत्र खोजि गर्न सकिने पनि स्मरण गराउनु भयो ।