इन्द्र आङ्बोलाई कोशीको मुख्यमन्त्री बनाउने तयारी

इन्द्र आङ्बोलाई कोशीको मुख्यमन्त्री बनाउने तयारी

काठमाडौँ । कोशी प्रदेशमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू सहमत भएका छन् । नेपाली काँग्रेस र एकीकृत समाजवादीको नेतृत्वले दाबी छोडेपछि आङ्बो मुख्यमन्त्रीको उम्मेदवार बन्ने भएका हुन् ।

संविधानको धारा १६८ (५) बमोजिम सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म समय दिइएको छ । यो उपधारामा प्रदेश सभाको बहुमत सदस्यको समर्थन जुटाउनेलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने प्रावधान छ । मुख्यमन्त्री बन्न संसदीय दलको नेता नै आवश्यक नपर्ने भएपछि गठबन्धनभित्रै आकाङ्क्षा राख्ने नेताहरूको संख्या बढेको थियो ।

काँग्रेसमा संसदीय दलका नेता उद्धव थापासँगै केदार कार्की, अमृत अर्याल, भीम पराजुली आकाङ्क्षी थिए । कार्कीलाई मुख्यमन्त्री बनाउनुपर्ने भन्दै डा. शेखर कोइरालाले प्रधानमन्त्रीसँग भेट पनि गरेका थिए । तर माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो दलका आङ्बोलाई मुख्यमन्त्री बनाउने पक्षमा देखिएका थिए ।

उनले गठबन्धनका नेताहरूसँग छलफल गरेका थिए । मंगलबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेका ‘प्रचण्ड’ले राप्रपाले काँग्रेसलाई समर्थन नगर्ने, तर आफूहरूलाई साथ दिने सन्देश काँग्रेस नेताहरूलाई दिए ।

बुधबार बिहान भएको छलफलमा काँग्रेस सभापति शेरबहादुर देउवा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समेत आङ्बोलाई मुख्यमन्त्री बनाउन सहमति दिएको स्रोतले बताएका छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com