काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन बिमानस्थलमा अवतरण गरेका छन । अमेरिका र चीनको १५ दिने लामो भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड जम्बो टोलीसहित बिमानस्थलमा अबतरण गरेका हुन ।
अमेरिकाबाट गत शनिवार चीनको भ्रमणमा निस्केका प्रधानमन्त्री प्रचण्ड छेन्दुबाट एयर चाइनाको बिमानमार्फत भर्खरै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
संयुक्त राष्ट्र संघीय सभालाइ सम्बोधन गरेर चीन पुगेका प्रधानमन्त्री प्रचण्डले चीनमा त्यहाँका राष्ट्रपति सि जिन पिङ तथा प्रधानमन्त्री, चिनिया कम्युनिष्ट पार्टीका प्रतिनिधिसहित शीर्ष नेतृत्वसँग छलफलसमेत गरेका थिए।
उनको भ्रमण दलमा परराष्ट्रमन्त्री एनपी साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, कृषी मन्त्री महेन्द्रराय यादव, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागी, मुख्यसचिव डा. वैकुण्ठ अर्यालसमेत फर्केका छन् ।
सबै नाका खोल्ने सहमति भएको छ : प्रधामन्त्री
प्रधानमन्त्री दाहालले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताएका छन् ।
चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारमाझ परम्परागत ढङ्गले उत्तरी सीमा क्षेत्रमा स्थानीयरुपमा प्रयोग गरेका नाका प्राविधिक र आवश्यक तयारी पूरा गरेर सञ्चालनमा ल्याउन दुई देशबीच सहमति भएको जानकारी दिए ।
केही नाकालाई व्यवस्थित गर्नेबारेमा चीन सरकारले अनुदान उपलब्ध गराउने वचन दिएको प्रधानमन्त्री दाहालको भनाइ छ । “वैधानिक ढङ्गले सबै नाका खोल्ने सहमति भएको छ । केही नाका अनुदानमा बनाइदिन्छौँ भन्ने सहमति भएको छ”, उनले भने ।
यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनबारेमा पनि महत्वपूर्ण छलफल भएको उनले जानकारी दिए । आन्तरिकरुपमा पनि केही तयारी गर्नुपर्ने देखिएको उल्लेख गर्दै उनले चीनको छन्दुबाट सहजै द्विपक्षीय उडान हुने बताए । चीनका अन्य सहरबाट पनि आवश्यक प्रक्रिया पूरा गरेर हवाई उडानलाई नियमित गर्नेबारेमा छलफल भएको प्रधानमन्त्री दाहालको भनाइ छ ।
आफू देश बाहिर रहँदा कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षक, स्वास्थ्यकर्मीलगायतले राख्दै आएको गुनासो सम्बोधन गरेकामा प्रधानमन्त्री दाहालले धन्यवाद दिए ।