संसद बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदै (लाइभ)


संसद बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदै (लाइभ)

प्रतिनिधि सभाको बैठक सुरु ।

यही बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन् ।

सबै मिलेर जाँदा देश अघि बढेका विगतलाई सम्झेर मत दिन प्रचण्डको आग्रह

विश्वासको मतको लागि मत विभाजन हुनुअघि संसदमा सम्बोधन गर्दै सबैजना मिलेर जाँदा देश अघि बढेका विगतलाई सम्झेर आज मत दिन आग्रह गर्नुभयो ।

‘हामी मिल्दा देश अघि गएको छ, नमिल्दा देश सङ्कटतिर गएको छ । २०७२ सालमा सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो, म विपक्षमा थिएँ, त्यतिबेला मैले संसदमा सत्तापक्ष र प्रतिपक्ष भन्ने छैन, यो सङ्कटलाई पार लगाऔँ भनेको थिएँ ’ प्रचण्डले भन्नुभयो ।

उहाँले अहिले पनि देश सङ्कटमै रहेको बताउनुभयो । अहिले देखिएका साना समस्या समाधान नगर्दा यसले ठूलो रुप लिन सक्ने भएकाले सबै मिलेर जानुपर्ने बताउनुभयो । ‘५० लाख मानिस गरिबीको रेखामुनि छन्, लाखौँ युवा परिवार छाडेर विदेशमा पसिना बगाउन बाध्य छन्, विकास निर्माण भद्रगोल छन्, विद्यालयले शैक्षिक क्यालेन्डरसमेत बनाउन सक्दैनन्, शान्ति प्रक्रियाका काम अधुरै छन्। यी सबै समस्याको समाधान हामी मिल्दा मात्रै सम्भव छ ’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

यसपटक आत्मस्वीकारोक्ति सहित आएको छु

प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले राजनीतिकर्मी कहिँ न कहिँ चुकेको आत्मस्वीकारोक्ति सहित काम सुरु गर्ने बताएका छन् ।

‘म यसपटक फरक संकल्पका साथ संसदसामु उभिएको छु, यसपटक इमान्दार स्वीकारोक्तिका साथ सुरु गर्न चाहन्छु कि हामी राजनीतिकर्मी कहिँ न कहिँ चुकेका छौं’ उनले भने ।

राजनीतिकर्मी चुकेकै कारण ५० लाख युवा विदेशमा काम गर्न बाध्य भएका, विकास आयोजनाहरु लथालिंग भएका र विश्वविद्यालयहरु आफ्नो क्यालेन्डर पनि बनाउन नसक्ने गरी भद्रगोल भएका उनले बताए ।

आफ्नो पहिलो कार्यकालमा अनुभव र टिम नहुँदा राम्रोसँग काम गर्न सकिएन - प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो कार्यकालमा अनुभव र टिम नहुँदा राम्रोसँग काम गर्न नसकेको बताए । ‘त्यतिबेला मसँग न अनुभव थियो न टिम । विभाजित मनोदशा र पार्टीभित्रकै सघर्षमा म रुमल्लिएँ, सिक्दासिक्दै भित्र र बाहिरको घेराबन्दीका बीच राजीनामा दिनुपर्ने अवस्था आयो’ उनले भने ।

संसदमा रिपोर्ट कार्डका साथ उपस्थित हुन्छु : प्रधानमन्त्री

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई साझा प्रधानमन्त्रीका रुपमा राष्ट्र निर्माणको अवसर दिन सांसदहरुलाई आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै प्रचण्डले हिजो क्रान्ति सुरु गर्दा जुन आवेग र अठोट थियो, बीचमा केही अलमल भए पनि अहिले त्यही जुन आवेग र अठोटका साथ रोष्टममा उभिएको बताए ।

सिंहदरबारमा फोटो झुण्ड्याउन मात्र प्रधानमन्त्री नभएको भन्दै उनले भने, ‘हरेक पटक संसदमा म उपपब्धिको डेटा र रिपोर्ट कार्डका साथ उपस्थित हुने छु । मलाई विश्वासको मत दिएमा हरेक माननीयले गर्व गर्ने वातावरण बनाउनेछु ।’

संसद अब करिब प्रतिपक्षविहीन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने निर्णय गरेपछि संघीय संसद अब करिब प्रतिपक्षविहीन बनेको छ ।

राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र एकजना स्वतन्त्रबाट चुनाव जितेका सांसदले मात्रै प्रचण्डलाई विश्वासको मत नदिने भएका छन् ।

क्रान्ति सुरु गर्दा जस्तो आवेग थियो आजपनि त्यहि आवेग छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रान्ति सुरु गर्दा जस्तो आवेग थियो आजपनि सोही आवेग आफूमा रहेको बताएका छन्।

संघीय संसदको प्रतिनिधिसभामा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले आफू सिंहदरबारमा फोटो झुण्ड्याउन मात्र नआएको बताए।

ओलीको अभिव्यक्तिप्रति काँग्रेसको ध्यानाकर्षण

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनः प्रतिनिधि सभाको विघटन गर्नसक्ने अभिव्यक्तिको दिएकोप्रति काँग्रेसको ध्यानाकर्षण भएको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने घोषणा गर्दै पूर्ण कार्यकाल सरकार चलाउन सबै मिलेर काम गर्न दिनुपर्ने बताउनु भयो ।

राजनीतिकर्मीप्रति जनताको असन्तोष छ :  प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिकर्मीप्रति जनताको असन्तोष भएको कुरा लुकाउन नहुने बताएका छन्।

राजनीतिकर्मीहरु चुकेको कुरा स्वीकार गर्दै संसद बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो यो कार्यकाल स्वर्णिम बनाउन लाग्ने प्रतिवद्धता जनाएका छन।

‘जनताको हामीप्रति एक ढंगको असन्तोष छ भन्ने कुरा लुकाएर होइन त्यसलाई स्वीकार गर्नेगरी कार्यकाल सुरु गर्न म यो संसदको विश्वास चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले भने।

सबै मिलेर अघाडि बढ्नु पर्नेमा प्रचण्डको जोड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा विश्वासको मत माग्दै सबै मिलेर अघाडि बढ्नु पर्नेमा जोड दिनुभएको छ ।

मंगलबार (आज) प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले लोकतान्त्रिक र वामपन्थी शक्तिहरु नै मिलेर देशमा परिवर्तन भएको बताउनुभयो। उहाँले १०४ वर्षे राणा शासन र राजतन्त्रको अन्त्य पनि सहमति र सहकार्यमार्फत भएको बताउनुभयो।

प्रचण्ड गत पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । उहाँले ११ गते शपथ लिनुभएको थियो । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

एमालेको प्रमुख सहयोगमा प्रधानमन्त्री हुनुभएका उहाँले कांग्रेस लगायतका दलहरुबाट पनि विश्वासको मत पाउनुहुने भएको छ ।

प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णयप्रति ओलीको आशंका

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णयप्रति आशंका गरेका छन् ।

उनले कांग्रेसको समर्थनभित्र कुनै जाल भएको हुन सक्ने बताएका हुन् ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्दै उनले कांग्रेसले समर्थन गरेर जाल वा ढोक्सा थापेको भए त्यसमा माछा नपर्ने बताए ।

संविधानको रक्षाका लागि प्रचण्डलाई मत : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने घोषणा गरेका छन् ।

विश्वासको मत लिदने प्रधानमन्त्री प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै देउवाले संसद विघटन गर्न सकिने एमाले अध्यक्षको अभिव्यक्तिमा आफ्नो ध्यानाकर्षण भएको बताए ।

मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने गरि काम गर्छु : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने संकल्प लिएको बताउनु भएको छ ।

आज प्रतिनिधि सभामा विश्वासको मत माग्दै दाहालले प्रधानमन्त्रीको रुपमा आफ्नो पहिलो कार्यकाल सोचेजस्तो नभएको, दोस्रो कार्यकालमा केही गरेको र तेस्रो कार्यकालमा मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने संकल्प लिएकाले त्यसमा साथ दिन पनि प्रतिनिधि सभाका सांसदहरुलाई आग्रह गर्नुभयो ।

राप्रपाले प्रचण्डलाई विश्वासको मत दिन्छ : राजेन्द्र लिङ्देन

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताउनुभएको छ ।

आज मङ्गलवार प्रतिनिधि सभामा बोल्दै अध्यक्ष लिङ्देनले पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बताउनुभएको हो ।

उहाँले सरकारले न्यूनतम साझा कार्यक्रममा सरकारले गरेका वाचा पूरा गर्नुपर्ने बताउनुभयो ।

संघीयता बलियो बनाउनपर्नेमा अशोक राईको जोड

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष अशोक राईले संघीयता बलियो बनाउनपर्नेमा जोड दिनुभएको छ ।

आज मंगलबार संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मतको पक्षमा धारणा राखेका राईले सबैखालको विभेदको अन्त्य हुनुपर्ने बताउनुभयो । ९ वर्षपछि उहाँले संसदमा सम्बोधन गर्ने अवसर पाउनुभएको हो ।

संसद विघटनलाई कहिले पनि संवैधानिक भन्न सकिन्न : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसद विघटनलाई कहिले पनि संवैधानिक भन्न नसकिने बताउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।

'सरकार देशको आर्थिक समृद्धिको स्पष्ट योजनाका साथ अगाडि बढेको छ'

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की नेत्री रेखा शर्माले वर्तमान सरकार देशको आर्थिक समृद्धिको स्पष्ट योजनाका साथ अगाडि बढेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा विश्वासको मत माग्नेसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार, आर्थिक समृद्धिको सुस्पष्ट योजना सरकारले सारेको बताउनुभयो । ‘प्रधानमन्त्रीले जुन प्रतिबद्धता व्यक्त गर्नुभयो, त्यो आजको आवश्यकता हो’, उहाँले भन्नुभयो ।

सत्ता साझेदार मात्र नभइ प्रतिपक्षी दलले पनि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको उल्लेख गर्दै उहाँले सिङ्गो संसदबाट प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सहमति र सहकार्यको वातावरण निर्माण गर्न आग्रह गर्नुभयो । ‘प्रधानमन्त्रीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा सिङ्गो संसद् उभिनेछ’, उहाँले भन्नुभयो, ‘देशका ज्वलन्त समस्या समाधान गर्न सम्पूर्ण दल एक ठाउँमा उभिएर सहमति र सहकार्यको अवस्था सिर्जना भएको नागरिकले आभास गर्न पाउने छन् ।’

प्रचण्डलाई विश्वासको मत दिने प्रक्रिया सुरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने प्रक्रिया सुरु भएको छ।

संसद भवन नयाँ बानेश्वरमा निर्वाचनको कार्यतालिका प्रकाशित भएसँगै निर्वाचन प्रक्रिया सुरु भएको हो।

प्रचण्डलाई विश्वासको मत दिन्छौ, सरकारमा सहभागी हुँदैनौँ : रञ्जिता श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने तर सरकारमा सहभागी नहुने बताउनुभएको छ ।

आज मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले रेशम चौधरीसहित थारु बन्दीहरु रिहा नभएसम्म आफूहरु प्रतिपक्षमै बस्ने बतउनुभएको हो ।

नेमकिपाले प्रचण्डलाई विश्वासको मत दिन्न : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ ।

मंगलबार प्रतिनिधि सभामा बोल्दै नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने बताउनुभयो ।

देश झनै संकटमा जानसक्ने स्थिति देखियोः अध्यक्ष केसी


काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षले नै सरकारको समर्थन गरेपछि देश झनै संकटमा जानसक्ने आशंका व्यक्त गर्नुभएको छ ।

उहाँले सरकारलाई खबरदारी गर्ने प्रमुख प्रतिपक्षले सरकारलाई समर्थन गरेको भन्दै देश झनै संकटमा जानसक्ने आशंका व्यक्त गर्नुभएको हो ।

आज मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले राष्ट्रिय जनमोर्चा एक्लै भएपनि प्रतिपक्षमा रहने बताउनु भयो । उहाँले आफ्ना गल्ती पन्छाउने र एउटा दललाई सरकारबाट निकालेर आफू सरकारमा बस्न सबै दल एक ठाउँमा भएको हुनसक्ने बताउनु भयो ।

प्रचण्डलाई विश्वासको मत दिन कांग्रेसको ह्वीप

काठमाडौँ । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको निर्देशनमा प्रमुख सचेतक रमेश लेखकले ह्वीप जारी गर्नुभएको हो ।

सचेतक लेखकले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्नका लागि सांसदहरूको हस्ताक्षरसमेत संकलन गर्नुभएको छ । हस्ताक्षर गर्नेको सूचीमा पहिलो अर्जुननरसिंह केसी, दोस्रो रामहरि खतिवडा, तेस्रो दीपक गिरी, चौथो विश्वप्रकाश शर्मा र पाँचौ गगन थापा छन् ।

कार्यसम्पादन समितिमा महामन्त्रीहरू र अरु केही नेताले असहमति जनाएका थिए । ह्वीपमा भने सबैले सहमति जनाएका छन् ।

सबै दलले दिएको विश्वासको मतबाट गौरवान्वित छु : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट आफूलाई सबै दलले दिएको विश्वासको मतबाट गौरवान्वित भएको बताउनुभएको छ ।

मंगलबार संसद बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै प्रचण्डले न्यायोचित तरिकाले जिम्मेवारी पूरा गर्ने बताउनुभएको हो ।

सरकारले गरेको सहमति र सम्झौताले पूर्णता पाएन : सर्वेन्द्रनाथ शुक्ला

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्लाले देशमा अझै १०औं लाख मानिसहरू राज्यविहीन अवस्थामा रहेको बताउनुभएको छ ।

पटक पटक बनेका सरकारले आफूहरूसँग सहमति र सम्झौता गरे पनि त्यसले पूर्णता पाउन नसकेको बताउनुभयो । ।

नागरिकता विधेयक अगाडि बढ्न नसकेकोमा पनि उहाँले आपत्ति जनाउनुभयो ।

रेशम चौधरीलाई रिहा गराउँछु : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुनसम्मत ढंगले रेशम चौधरीलाई रिहा गराउने बताउनुभएको छ ।

प्रतिनिधिसभामा विश्वासको मत माग्नुभएका उहाँले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले संसदबाट कानुन बनाएर रेशम चौधरीलाई कानुनसम्मत ढंगले रिहा गराउने बताउनुभएको हो ।

तराई मधेश अन्य राजनीतिक दलसँग विगतमा भएको समझदारीका आधारमा अध्यादेश बनाएर भए पनि रेशम चौधरीसहित नेता कार्यक्रतालाई छुटाउन पहल गरेको पनि उहाँले बताउनुभयो । आफूले यस विषयमा सात्ता साझेदार दलको संयन्त्रमा पनि छलफल गरिसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले संयन्त्रको बैठकमा पनि छिटो भन्दा छिटो पहल गर्ने सहमति भएको बताउनुभयो ।

आफूले सार्वजिनक समारोहमा रेशम चौधरीलाई अन्याय भएको र त्यसबाट न्याय दिनुपर्छ भन्दै आएको पनि प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

१० दलको समर्थनले चुनौती थपियो : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलहरुको विश्वासको मत र समर्थनले थप चुनौती थपिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा विश्वासको मतमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले सबै दलहरुले विश्वासको मत दिन्छन् भन्ने आफूले नसोचेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डलाई नेमकिपा र राष्ट्रिय जनमोर्चाबाहेक १० दलले विश्वासको मत दिने भएका छन्।प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि विभिन्न राजनीतिक दलसँग अपिल गरेको र त्यो सकारात्मक देखिएको विश्वास व्यक्‍त गर्नुभयो ।

उहाँले सबै राजनीतिक दल र स्वतन्त्र सांसदले उठाएका विषयले आफूलाई निक्कै गम्भीर बनाएको बताउनुभयो। 

आफूलाई अपार सफलता मिलेको बताउँदै प्रचण्डले आफूमाथि भएको विश्वास र समर्थनलाई न्यायपूर्ण सम्बोधन गर्न सकौंला कि भन्ने प्रश्न उठेको बताउनुभयो।

प्रधानमन्त्रीलाई २६८ सांसदको समर्थन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेकोसम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाको २७५ सदस्यमध्ये २६८ जनाले मतदान गर्नुभएको छ ।

आजको बैठकमा २७० जना उपस्थित थिए ।

प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मत दिएका छन् ।

Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com