रास्वपाले पनि सरकारको नेतृत्वका लागि दाबी गर्ने रवि लामिछानेको संकेत

रास्वपाले पनि सरकारको नेतृत्वका लागि दाबी गर्ने रवि लामिछानेको संकेत
User

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारको नेतृत्वका लागि दाबी गर्ने सङ्केत गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी प्रतिनिधि सभामा चौथो ठूलो दलको हैसियतले सरकारको नेतृत्वका लागि ठूला दलहरूसँग छलफल चलाइएको बताउनुभएको हो ।

आज बिहीवार प्रतिनिधि सभा सदस्य पदको शपथ ग्रहण गरेलगत्तै सभापति लामिछानेले सरकार बनाउने कुरा संविधानसम्मत ढङ्गले अघि बढ्ने भएकाले आफूहरू त्यहीअनुसार अघि बढ्ने बताउनुभयो ।

संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकार बनाउने कुरामा संसद् अनिर्णयको बन्दी नबनोस् भन्ने कुरामा आफूहरू सचेत रहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नागरिकले मतदान दिएर विश्वास गरेर पठाइसकेपछि जनमतको कदर नगर्ने भन्ने कुरै भएन । हाम्रा नेतृत्वमा सरकार बन्ने वातावरण बन्दा त्यसमा पनि छलफल नचलाएको होइन । हामीलाई प्राप्त जनमत सरकार बनाउन पुग्ने छैन ।

यद्यपि कसैलाई पनि बहुमत नआएको परिवेशमा चौथो ठूलो दलको रूपमा हामीले पनि नेतृत्व गर्न सक्छौँ कि भन्ने विषयलाई एकदमै सामान्य छलफलको विषय बनाएका छौँ । बाँकी हेर्दै जाऔँ ।’

सभापति लामिछानेले अदालतमा विचाराधीन अवस्थामा रहेकाले आफ्नो नागरिकतासम्बन्धी विवादका विषयमा भने बोल्न नमिल्ने प्रतिक्रिया दिनुभयो । अदालतको फैसलाअनुसार नै आफूले प्रतिनिधि सभा सदस्यमा उठेको र शपथ ग्रहणसमेत गरेको स्मरण गराउँदै उहाँले नागरिकता विवादको विषयमा आफूलाई अदालतले न्याय दिने विश्वाससमेत व्यक्त गर्नुभयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com