
काठमाडौं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा तीन जनाको मनोनयन दर्ता भएको छ ।
सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका कुमार दसौंदी, सत्ता गठबन्धनमै रहेको नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर राय र नेपाली काँग्रेसबाट माधवप्रसाद आचार्यले मनोनयन दर्ता गराउनुभएको हो ।
आउँदो २५ गते हुने उपनिर्वाचनका लागि तीनै जनाले दाङको घोराहीस्थित प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउनुभएको हो ।
एमालेका केन्द्रीय सदस्य समेत रहेका दसौंदीको प्रस्तावकमा दाङको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखरेल र समर्थकमा राप्रपा बाँकेका प्रदेश सदस्य मिना कुमारी श्रेष्ठ रहनुभएको छ ।
रायको प्रस्तावकमा प्रदेश सभा सदस्य राजकुमार चौधरी र समर्थकमा अर्का प्रदेश सभा सदस्य धर्मबहादुर चौधरी रहँदा आचार्यको प्रतावकमा बङ्गलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसी र समर्थकमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी हुनुहुन्छ ।
एमालेबाट राष्ट्रियसभा सदस्य बनेका रुपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न राष्ट्रियसभाबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो ।
प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष गरी तीन सय पाँच मतदाता छन् । प्रदेशसभा सदस्यतर्फ ८७ र स्थानीय तहतर्फ २ सय १८ मतदाता छन् ।
भोलि उम्मेदवारबारे उजुरी दिने, माघ १३ र १४ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ तथा माघ १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेद्वारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको कार्यालयले जनाएको छ ।