मधेस प्रदेश सभाका सभामुख र उपसभामुखले लिए शपथ

मधेस प्रदेश सभाका सभामुख र उपसभामुखले लिए शपथ
Niranjan Sha/Dhanusa/RSS

काठमाडौं । मधेस प्रदेश सभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत ईशरले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ ।

बुधवार बिहान मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले सभामुख मण्डल र सभामुख मण्डलले उपसभामुख ईशरलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो । उपसभामुख इशरले भने हिन्दी भाषामा शपथ लिनुभएको थियो । शपथग्रहण समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, मन्त्रीहरुसहितको सहभागिता रहेको थियो ।

गत मंगलवार बसेको प्रदेश सभा बैठकमा मण्डललाई सभामुखमा चयन गरियोस् भन्ने प्रश्तावको पक्षमा ७४ मत अर्थात् बहुमत सदस्यको समर्थन प्राप्त भएको थियो । कुल १०७ सदस्यीय प्रदेश सभामा १०३ जनाले मतविभाजन प्रक्रियामा सहभागिता जनाएका थिए ।

मण्डललाई सत्ता गठबन्धन दल एमाले, जसपा, माओवादी केन्द्र, जनमत, लोसपा, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र स्वतन्त्र संसादहरुको समर्थन थियो । प्रदेशमा एमालेका २३, काँग्रेसका २२, जसपाका १६, जनमतका १३, माओवादीका ७, लोसपाका ९, नेकपा एकीकृत समाजवादीका ७, राप्रपाका १, नेपाल संघीय समाजवादीका १ र स्वतन्त्र ५ जना सांसदहरु निर्वाचित भएका छन् ।

प्रदेश सभाका सभाध्यक्ष (ज्येष्ठ सदस्य) गोविन्दबहादुर न्यौपानेले भने मतविभाजन प्रक्रियामा सहभागिता जनाउनु भएन । सभामुखमा चयन हुन ५२ मत आवश्यक रहेकोमा मण्डलको पक्षमा ७४ मत परेको थियो । उहाँको विपक्षमा २९ मत खसेको थियो ।

यसैगरी जनमत पार्टीकी उम्मेदवार बबिताकुमारी राउत ईशरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने पक्षमा ७२ मत प्राप्त भएको थियो । उहाँको विपक्षमा २९ मत खसेको थियो । उपसभामुखको निर्वाचन प्रक्रियामा १०१ सांसदले सहभागिता जनाउनुभएको थियो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com