लोकतन्त्रको विकल्प अझ राम्रो लोकतन्त्र हो : सभापति देउवा

लोकतन्त्रको विकल्प अझ राम्रो लोकतन्त्र हो : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र भएको बताएका छन् ।

४८औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा सोमबार नेपाली कांग्रेसद्वारा आयोजना गरेकाे कार्यक्रममा सभापति देउवाले लोकतन्त्रको प्रतिस्पर्धी अझ राम्रो लोकतन्त्रमात्रै भएको भन्दै यसको विकल्पबारे नसोच्न आगंह गरे । नेपालमा मेलमिलापको आवश्यकता र औचित्य अझै बढ्दै गएकाले सबै मिलेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

देउवाले वैचारिक मतभेद र पार्टीगत मतभेदका बाबजुद दलहरूबीच मेलमिलाप रहेको बताए । ‘वैचारिक मतभेद र पार्टीगत मतभेद छन् । तर हाम्रो देशमा सबै दलहरू एक ठाउँमा बस्ने राजनीतिक संस्कार बसेको छ । यो सायद धेरै कम देशमा छ,’ उनले भने, ‘मान्छेहरू छक्क पर्छन् । कांग्रेसको जन्म जयन्तीमा अरू पार्टीका नेताहरू देख्दा विदेशबाट आएकाहरू छक्क परेका हुन्छन् ।’

प्रतिस्पर्धाका बाबजुद एक अर्कामा मेलमिलाप र भाइचाराको वातावरण धेरै कम देशमा मात्र रहेका देउवाको भनाइ छ । ‘हाम्रो देशमा देखिएको एकता र मेलमिलापको संस्कारमा बिपी कोइरालाले ल्याएको नीतिको प्रभाव परेको मलाई लाग्छ,’ उनले भने ।

अहिलेको बेलामा देशमा मेलमिलापको आवश्यकता अझै बढेको सभापति देउवाले औँल्याए । ‘अनेकै किसिमका बाहाना खोज्नेहरू लोकतान्त्रिक गणतन्त्रको खिलाफमा वातावरण बनाउने प्रयासमा भएको छ । लोकतन्त्रको विकल्प केही हो भने अझ राम्रो लोकतन्त्र हो,’ उनले भने । ‘संघीय लोकतान्त्रिक गणतन्त्रमा सबै पार्टीको बिचमा सहमति छ, एउटा धारणा छ । त्यो नै अत्यन्त महत्त्वपूर्ण छ ।’

राजा फेरि फर्काउने कुरा हुनै नसक्ने भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सबैले एक हुनुपर्ने उनले बताए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com