सत्य निरुपणसम्बन्धी विधेयक प्रतिनिधिसभामा

सत्य निरुपणसम्बन्धी विधेयक प्रतिनिधिसभामा

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।

बैठकमा प्रधानमन्त्री दाहालले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९” समेत पेस गर्नुहुनेछ । यसैगरी बैठकमा सांसदहरू ज्ञानबहादुर शाही र प्रेम सुवालले “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राख्नुभएको विरोधको सूचनाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची छ ।

साथै बैठकमा प्रेम सुवालले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राख्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउनु हुनेछ ।

यसैगरी सभामुखले बैठकमा नेपालको संविधानको धारा ६२ को उपधारा (६) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको व्यहोरा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम जानकारी गराउनु हुने सम्भावित कार्यसूचिमा रहेको छ ।

बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ । राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेसमेत बैठकको सम्भावित कार्यसूची छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com