
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र सङ्कटको डिलमा पुगेको बताएका छन्।
सरकारका नीति तथा कार्यक्रममाथि आज प्रतिनिधि सभा बैठकमा टिप्पणी गर्दै ओलीले यस्तो बताएका हुन् । उनले अर्थतन्त्र उकास्दै गरेको एमालेको सरकारलाई ढालेर काँग्रेस-माओवादीसहित नयाँ गठबन्धन बनेको र त्यसले जनतालाई दु:ख दिइरहेको बताए।
उनले भने,‘नेकपा एमालेको सरकारलाई विस्थापन गरी बनेको काँग्रेस माओवादीसहितको गठबन्धन सरकार नै हाम्रो अर्थतन्त्रलाई सङ्कटको डिलमा पुर्याउने प्रमुख कारक हो । प्रधानमन्त्रीलाई लागेको होला, सरकार राम्रो छ भनिदिए हुन्थ्यो। तथ्याङ्कले अर्कै कुरा बोल्छ कसरी बोल्ने ? देश र जनतालाई दु:ख दिन र दुस्खको कारण भएको छ अहिलेको गठबन्धन।’