देश एकताबद्ध भएर जान्छ : प्रचण्ड

देश एकताबद्ध भएर जान्छ : प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाली जनताका आशाअपेक्षा पूरा गर्न आफ्नो पूरा सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्। कम्युनिस्ट आन्दोलनका पुराना नेता, नेकपा (माओवादी केन्द्र) का ज्येष्ठ नागरिक सल्लाहकार मञ्चका केन्द्रीय सदस्य भुवनप्रसाद श्रेष्ठद्वारा लिखित ‘कम्युनिस्ट आन्दोलनका प्रेरक भुवन दाइ’ पुस्तकको आज विमोचन प्रधानमन्त्री प्रचण्डले गोरखाका ठूला विकासका परियोजना निर्माणमा आफ्नो ध्यान गएको बताए।

‘अहिले ४६ वर्षपछि गोरखाको जनप्रतिनिधिका रुपमा निर्वाचित भएर देशको कार्यकारी प्रमुखको भूमिकामा छु। बूढीगण्डकी जलविद्युत् आयोजना, बेनीघाट-आरुघाट-लार्के सडक निर्माण, जिल्लाको कृषि, पर्यटन र जडीबुटीको विकासमा मेरो ध्यान गएको छ,’ उनले भने।

गोरखाको जनप्रतिनिधि नहुँदा पनि जिल्लाको समृद्धिमा आफ्नो ध्यान केन्द्रित भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘गोरखा, आरुघाट मेरो स्मृतिमा ताजै हुन्थ्यो, विगतमा पनि मैले सकेको सहयोग गरिरहेकै हुन्थेँ, अहिले त म त्यहीँको जनप्रतिनिधि छु। मेरो जिम्मेवारी अझ बढेको छ।’ करिब ४० वर्षअघि उनले गोरखाको आरुघाटस्थित भीमोदय माध्यमिक विद्यालयमा अध्यापन गराएका थिए।

प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा असाधारण अवस्था देखिएको उल्लेख गर्दै उनले झण्डै सिंगै सदन नै विश्वासको मतका पक्षमा सहमत भएको बताए।

उनले भने, ‘सिङ्गो सदन नै विश्वासको मत दिने अवस्थामा आयो । यो नेपाली राजनीतिमा असाधारण परिघटना भयो। करिब राष्ट्रिय सहमति नै भयो। सिंगो देशलाई एकताबद्ध भएर जाने वातावरण बनेको छ, देश एकताबद्ध भएर जान्छ।’

पुस्तकमाथि चर्चा गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘भुवन दाइको पुस्तक विमोचन गर्न पाउँदा गौरवको अनुभूति भएको छ। झण्डै ४६ वर्ष पहिले भीमोदय माविमा फर्किएजस्तो अनुभूति भएको छ। पुराना शिक्षक साथीहरू र विद्यार्थीहरू पनि देख्दा छुट्टै आत्मीयता महसुस भएको छ। परिवारका सदस्यहरू पनि हुनुहुन्छ। मलाई युवा जीवनको स्मृति भइरहेको छ।’

आरुघाटमा रहँदा आफूले श्रेष्ठसँग बिताएका क्षण अविस्मरणीय रहेको उल्लेख गर्दै उनले श्रेष्ठ र उनका परिवारजन सांस्कृतिकरुपले सुसज्जित, सभ्य र इमान्दार रहेको पाएको स्मरण गरे। ‘त्यति बेलाको समय ऊर्जाशील थियो। हामीले उत्साहका साथ मिलेर काम गरेका थियौं। म जानुपूर्व एसएलसीमा कोही पनि उत्तीर्ण भएका थिएनन्। म शिक्षक भएर गएपछि आठ विद्यार्थी उत्तीर्ण भए,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘२२/२४ वर्षको उमेर निकै महत्त्वपूर्ण र ऊर्जाशील रहेछ। मलाई नयाँ ऊर्जा प्राप्त भएजस्तो अनुभूति भएको छ।’

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com