नागरिक उन्मुक्तिको प्रथम महाधिवेशनः अध्यक्षमा रन्जिता कि रेशम ?

नागरिक उन्मुक्तिको प्रथम महाधिवेशनः अध्यक्षमा रन्जिता कि रेशम ?

टिकापुर । नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि कैलालीको टिकापुरमा हुँदैछ । २०७२ सालको थरुहट आन्दोलनको जगमा डिल्लीबजार कारागारबाट स्थापित यस पार्टीको महाधिवेशन तीन दिन हुने आयोजकले जनाएको छ । महाधिवेशनबाट पार्टीको नेतृत्व हेरफेर हुने स्रोतले बताएको छ ।

नाउपाका अनुसार महाधिवेशबाट २९ पदाधिकारी, ५०१ केन्द्रिय सदस्य निर्वाचित हुनेछन् । जसमा एक अध्यक्ष, एक सहध्यक्ष, सात उपाध्यक्ष, एक महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् । महाधिवेशनमा सहभागी हुनका लागि देशभरका ५५ जिल्लाबाट ८ हजार प्रतिनिधि सहभागी हुँदैछन् । पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टीको राजनीति दस्तावेज प्रस्तुत गर्नेछन् । 

अध्यक्षमा रेशम कि रन्जिता ?

२०७२ सालको थरुहट आन्दोलनको जगमा स्थापित यस पार्टी गत आम निर्वाचनको सम्मुखमा खोलिएको थियो । दल दर्ताको छोटो समयमै यस पार्टीले सुदुरपश्चिम, लुम्बिनी तथा मधेस प्रदेशबाट राम्रो जनमत प्राप्त गरेको थियो ।  जसका कारण प्रतिनिधिसभामा ४, लुम्बिनी ४,  सुदुरपश्चिममा ७ सिट र मधेस प्रदेशमा १ सिट प्राप्त गरेको थियो ।

यस्तै स्थानीय तहमा चार पालिका प्रमुख, तीन पालिका उपप्रमुखसहित ९९ स्थानीय जनप्रतिनिधि जित्न सफल भएको थियो । 

पार्टीका वर्तमान संरक्षक रेशमलाल चौधरीले डिल्लीबजार कारागारबाट नै पार्टीको परिकल्पना तथा मार्गनिर्देशन गरेको थिए । उनी कारागारमा रहँदै स्थापना भएको पार्टीको अध्यक्ष हाल उनकै धर्मपत्नी रन्जिता श्रेष्ठ चौधरी छिन् । रन्जिता हाल नेपाल सरकारको भुमि व्यवस्था, गरिबी तथा सहकारी निवारण मन्त्री छिन् । 

प्रथम महाधिवेशनबाट पार्टीका नेतृत्व रेशमले नै गर्नुपर्ने माग केही कार्यकर्ताले राखेका छन् । कतिपयले भने रन्जितालाई नै दाहोर्याउनु पर्ने अडान राखेका छन । महिला नेतृत्व नै हुँदा राम्रो सन्देश जाने कतिपय महाधिवेशन प्रतिनिधिहरु बताउँछन् । 

रेशमले भने अहिले तत्कालै कुनै निर्णय गरिसकेका छैनन् ।  यद्यपि महाधिवेशनबाट पार्टीको संरक्षक रहने व्यवस्था हटाइँदैछ । स्रोत भन्छ, ‘रेशम माननीय अब पार्टीको अध्यक्ष बन्नुहुन्छ, बन्नुपर्छ भन्ने हाम्रो माग थियो । अहिले पार्टीको संरक्षक पद हटाइँदैछ । यसको संकेत उहाँ अध्यक्ष बन्ने तयारीमा हुनुहुन्छ भन्ने हो ।’ 

रेशम भने पार्टीको उद्घाटन सत्रपछि हुने बन्दसत्रका क्रममा आम महाधिवेशन प्रतिनिधिहरुको भावना अनुसार उचित निर्णय लिने बताउँछन् । उनी भन्छन्, ‘अध्यक्ष को बन्ने ? पदाधिकारी को बन्ने ? भन्ने कुरा महाधिवेशन प्रतिनिधिले छनौट गर्ने कुरा हो । उहाँहरुको निर्णय अनुसार नै पार्टी अघि बढ्छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com