राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोकेको सरकारको प्रवक्ता रेखा शर्माले बताइन् ।

नेपालको संविधानको धारा ८६ को उपधारा ३ बमोजिम राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले (माघ १५ गतेसम्म) निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनीत एक गरी २० सदस्यको पद रिक्त हुँदैछ ।

राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ सदस्य पदको निर्वाचन हुँदै आएको छ । राष्ट्रिय जनगणना २०७८ को नतिजा बमोजिम राष्ट्रिय सभा सदस्यको अब रिक्त हुने पदको निर्वाचनका लागि मतदाता रहेका प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने गरी निर्वाचन आयोगबाट निर्णय भइसकेको छ ।

दवाडी सचिवमा बढुवा

सरकारले सहसचिव सरिता दवाडीलाई सचिवमा बढुवा गरेको छ। मन्त्रिपरिषद् बैठकले सहसचिव सरिता दवाडीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार(हिजो) बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सहसचिव त्रय सरिता दवाडी, दिनानाथ मिश्र र रामप्रसाद घिमिरेको नाम सिफारिस गरेको थियो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com