माओवादीले सम्हालेको मन्त्रालय हेरेफेर हुने, मन्त्रिपरिषद् पुनर्गठन भोलि

माओवादीले सम्हालेको मन्त्रालय हेरेफेर हुने, मन्त्रिपरिषद् पुनर्गठन भोलि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिसम्ममा मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिएसँगै कांग्रेससहितका दललाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका हुन् । यसका लागि सत्ता साझेदार दलहरुको बैठक आज बस्दैछ ।

प्रधानमन्त्रीले आज सत्ता साझेदार दलको बैठक बोलाएर आवश्यक निष्कर्षका साथ सरकार विस्तार गर्ने तयारी गर्नुभएको नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । गृहकार्यका कारण केही दिन मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएपनि प्रधानमन्त्रीले सत्ता साझेदार दलसँग छुट्टाछुट्टै ढङ्गले छलफल गरिरहनुभएको उनले बताए ।

हिजो बसेको माओवादी पदाधिकारी बैठकले पनि भोलिसम्ममा मन्त्रिपरिषद विस्तार गरी डेलिभरीका कामलाई तीव्रता दिने निर्णय गरेको थियो । कांग्रेसले ८, माओवादीले ५ र जसपाका साथै नेकपा एकीकृत समाजवादीले २–२ वटा मन्त्रालय पाउने गरी सत्ता साझेदार दलबीच छलफल अघि बढेको बताइएको छ । सबैलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरिँदा हाल माओवादीले सम्हाल्दै आएका केही मन्त्रालय हेरफेर हुन सक्ने पनि नेताहरुको भनाइ छ ।

यसैबीच नेकपा माओवादी केन्द्रले सरकार विस्तारमा विलम्ब हुँदा जनअपेक्षालाई सम्बोधन गर्न नसकिएको ठहर गर्दै शीघ्र निष्कर्षमा पुर्‍याउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय परिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकले सङ्घीय संसद्को कामलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरेको छ ।

गठबन्धनमा आबद्ध पार्टी र सांसदसँग छलफल गरेर महत्वपूर्ण विधेयकलाई अगाडि बढाउने तथा सत्य निरुपण तथा मेलमिलाप आयोगलगायतका महत्वपूर्ण कानुन निर्माणमा जुट्ने विषयमा समेत बैठक केन्द्रित भएको थियो ।

त्यस्तै बैठकमा सरकार र पार्टीको अन्तरसम्बन्धका बारेमा छलफल भएको थियो । सरकार र पार्टी एकअर्काका परिपूरक भएकाले पनि सरकारको काम कारबाही पार्टी र जनतासँग कसरी जोड्न सकिन्छ भन्नेमा बैठक केन्द्रित रहेको सचिव देवेन्द्र पौडेलले बताए ।

यस्तै प्रदेश सरकारलाई समेत सङ्घीय सरकारको नीति तथा कार्यक्रम र बजेटसँग जोडेर एकमुष्टरूपमा जनतालाई राहत दिने गरी जानुपर्ने माओवादीको निष्कर्ष छ । सात प्रदेशमध्ये दुईवटा प्रदेशमा माओवादी नेतृत्वको सरकार छ । अन्य प्रदेशमा पनि नयाँ गठबन्धनको सरकार विस्तार तयारी छ । सातै प्रदेशमा आलोपालो संरचनाअनुरुप अघि लाने भन्ने विषयमा पनि कुराकानी भएको सचिव पौडेलको भनाइ छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com