
काठमाडौं । उपप्रधानमन्त्री एवम भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पृथ्वी जयन्तिमा सार्वजनिक बिदा दिएर सरकारले नेपालको भौगोलिक एकीकरणका नायक पृथ्वीनारायण शाहको ऐतिहासिक कदमलाई स्थापित गरेको बताउनुभएको छ ।
पृथ्वी जयन्तिको अवसर पारेर बुधवार राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा उहाँले नेपालको भौगोलिक एकीकरणको नायक पृथ्वीनारायण शाहबारे कुनैपनि विवाद गर्नुपर्ने आवश्यक्ता समेत नरहेको बताउनु भयो । उहाँले सञ्चारकर्मीहरुमाझ नेपालको भूभागको पुनःएकीकरण गर्ने काम पृथ्वीनारायण शाहले गर्नुपर्ने समेत बताउनु भयो ।
उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘नेपालको भौगोलिक एकीकरणका नायक हुनुहुन्छ पृथ्वीनारायण शाह । वास्तवमा पृथ्वीनारायण शाहको भुमिकाका बारेमा कुनै विवाद गर्नुपर्ने आवश्यक्ता छैन । राज्य बिस्तारकै तरिकाद्वारा वस्तुगत रुपमा नेपालको भूभागको पुनःएकीकरण गर्ने काम पृथ्वीनारायण शाहमार्फत भयो । त्यसलाई स्मरण गर्दै, त्यसलाई सम्मान गर्दै सरकारले आज दिनलाई पृथ्वी जयन्तिको रुपमा बिदा दिने निर्णय गरेको छ । यसको ऐतिहासिक महत्व स्थापित भएको छ । पहिलो कुरा त हामीले ऐतिहासिक सत्यलाई राज्यको स्थापित गर्ने काम गरेका छौं ।’
सरकारले यस वर्ष पृथ्वी जयन्तिमा सार्वजनिक दिएको छ ।