रवि लामिछानेबिरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

रवि लामिछानेबिरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबिरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । 

नागरिकताको विवादलाई देखाएर उहाँलाई काम नगर्न नदिने गरी अन्तरिम आदेश जारी गर्न परेको रिटमाथि शुक्रवार संवैधानिक अदालतमा कायममुकाय प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत सम्मिलित संवैधानिक इजलासले सुनुवाई गर्दै अन्तरिम आदेश नगर्ने निर्णय गरेको हो ।

तर रिटलाई भने अग्राधिकार दिएर माघ ११ गते बुधवार पूर्ण सुनवाईका लागि पेशी तोक्न पनि अदालतले आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘तत्काल अन्तरिक आदेश भएको स्थिति छैन । र, अव यो आदेश अनुसार यो मुद्दालाई २०७९ साल माघ ११ गते बुधवारका दिन अग्राधिकार दिएर पूर्ण सुनुवाईका लागि पेस गर्नुभन्ने आदेश भएको छ । त्यसैगरी आजको आदेश पश्चात सबै कागजातहरु, मिसिलहरु, यो विषयमा भएको सबै कुराहरु चाहीँ यथाशिघ्र ७ दिन भित्र झिकाई संलग्न गरी पेस गर्नु । र, यो मुद्दा सुनुवाईका बेलामा स्थगित नहुने सूचना निवेदक तथा विपक्षीलाई जानकारी गराई त्यसको पेसी चढाउनू भन्ने खालको आदेश भएको कुरा पनि म निवेदन गर्न चाहन्छु ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनुभएका उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने प्रतिनिधि सभामा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो ।

अमेरिकाको ग्रिनकार्ड त्यागेपनि उहाँले नेपाली नागरिकता नलिएको दाबीसहित सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।

त्यसको पूर्ण सुनुवाई भने माघ ११ गते हुने सर्वोच्च अदालतको आदेशमा उल्लेख गरिएको छ । त्यसका लागि आवश्यक कागजात ७ दिन भित्र अदालतमा पेस गर्न पनि विपक्षलाई आदेश दिइएको प्रवक्ता पौडेलले बताउनु भयो । 

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com