हामीलाई सरकारबाट निकाल्ने षड्यन्त्र भइरहेको छ : माधव नेपाल

हामीलाई सरकारबाट निकाल्ने षड्यन्त्र भइरहेको छ : माधव नेपाल
Published on
Updated on

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले गठबन्धनबाट आफ्नो पार्टीलाई निकाल्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

सोमबार पार्टी कार्यालय आलोकनगरमा नेपाल नेवाः राष्ट्रिय संघ (समाजवादी)ले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले अहिले गठबन्धनलाई कमजोर पार्न र गठबन्धनबाट समाजवादीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताए ।

उनले गठबन्धन बनाउन आफ्नो पार्टीले नै नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै गठबन्धनभित्र भएका कमीकमजोरीलाई सुधार गर्दै एकतावद्ध भएर अघि बढ्नुपर्ने धारणा राखे । उनले अहिलेको गठबन्धन समाजवादका लागि बाधक नभएकाले गठबन्धन र सरकारबाट बाहिर निस्किए पार्टी समाप्त हुन सक्ने जिकिर गरे ।

उनले मुलुक अत्यन्तै जटिल भूराजनीतिमा रहेकाले एमसीसीलाई मुलुकको हितका आधारमा अघि बढाउनुपर्ने धारणा राखे । एकीकृत समाजवादीकै कारण एससिसीको व्याख्यात्मक घोषणा भएको उनकाे दाबी छ ।

अध्यक्ष नेपालले पूर्व प्रधानमन्त्री झलनाथ खनालप्रति इंगित गर्दै एमसीसीको गीत गाएर पार्टी कमजोर बनाउने र अमेरिकाको स्वार्थ संरक्षण गरेको आरोप लगाए ।

‘केहीकेही मानिसको गीतै के छ भने एमसिसीलाई बहिष्कार गर्नुपर्छ । अरू केही होइन, एमसिसीको विरोध गरेर हामीलाई सरकारबाट फाल्दिने, कमजोर बनाउने, अमेरिकनहरूको स्वार्थको रक्षा हुने, विदेशीहरूको हालीमुहाली चल्दाखेरि तमासा हेरेर बस्ने अनि जनताले हामीलाई वाहवाह क्रान्तिकारी भनेर जनताले साथ दिनेथिए भनेर हवाई कल्पनागर्नेबाहेक केही पनि होइन,’ उनले भने ।

उनले एमसिसीको विरोध गरेकैले वाहवाही पाउने भए नेपाल मजदुर किसान पार्टी देशव्यापी बन्ने बताए ।

‘हामीलाई थाहा छ, एमसिसीको घोर विरोध गरेको नेपाल मजदुर किसान पार्टीले त्यही विरोधको कारणले वाहवाही पाउँथ्यो भने अहिले देशव्यापीरूपमा फैलिइसक्ने थियो । एमसिसीको विरोध गरेकैले मोहन विक्रमजी (राष्ट्रिय जनमोर्चा)को पार्टीलाई सारा देशका जनताले भोटभोटै खसालेर सय सिट दिने थिए, हुँदो रहेनछ,’ उनले भने ।

अध्यक्ष नेपालले समाज रुपान्तरणको क्रममा बाधा हुनेहरुलाई पन्छाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com