राष्ट्रपतिको सम्बन्धमा सत्तारुढ गठबन्धनमा समस्या हुँदैन : जनार्दन शर्मा

राष्ट्रपतिको सम्बन्धमा सत्तारुढ गठबन्धनमा समस्या हुँदैन : जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद जनार्दन शर्माले राष्ट्रपतिको सम्बन्धमा सत्तारुढ गठबन्धनमा समस्या नहुने बताउनुभएको छ ।

मंगलवार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उपमहासचिव शर्माले राष्ट्रपतिको सम्बन्धमा गठबन्धनका दलहरुका बिचमा समस्या नहुने बताउनुभएको हो । उहाँले गठबन्धनमा मतभिन्नता भएपनि छलफल गरेर समाधान गर्न सकिने बताउनु भयो ।

उहाँले समस्याको समाधान हुने स्पष्ट पार्नुभयो । सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिदैँ उहाँले सत्तारुढ गठबन्धनका नेताहरुका बीचमा असमझदारी नभएको बताउनु भयो । गठबन्धन आफ्नो उद्देश्यमा केन्द्रित रहेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘राष्ट्रपतिको पदावधि सकिनुभन्दा पहिल्यै राष्ट्रपतिको निर्वाचन हुनुपर्छ । दिन कतिबेला तोक्ने भन्नेकुरा मात्रै हो । अब अहिले जो बनेको गठबन्धन छ, गठबन्धनमा होलान्, केही मतभिन्नताहरु हुन सक्छन् । समस्याहरु हुन सक्छन् । ति समस्या छलफल गरेर समाधान गर्न सकिने स्तरमा छन् । समाधान हुन्छन् । बोल्ने कुरामा शब्दमा टिपेर कटाक्ष भएको भन्न मिल्दैन किनभने गठबन्धन छ । नीति, कार्यक्रम उहाँहरुले मिलेर बनाउनुभएको छ । त्यही कुरा लागू भएको छ । योजनामा हेर्ने हो नि त । बोल्दाखेरी शब्द कता कता पर्छ त्यो कुरा मुख्य कुरा होइन । मुख्य कुरा उद्देश्यमा केन्द्रित छ कि छैन भन्दा अहिलेको गठबन्धन उद्देश्यमा केन्द्रित छ ।’

त्यस्तै माओवादी केन्द्रका अर्का उपमहासचिव तथा सांसद शक्ति बस्नेतले राष्ट्रपतिको पदमा राष्ट्रिय सहमतिको प्रयत्न गर्नुलाई नकारात्मक रुपमा लिनु नहुने बताउनु भयो । सम्भव भएसम्म सहमतिको प्रयास गर्नु सकारात्मक कुरा भएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सबै कुरामा राष्ट्रिय सहमति आफैँमा राम्रो कुरा हो । सम्भव भएसम्म सहमतिको लागि प्रयत्न गर्नुलाई अन्य धेरै कोणबाट हेर्नु जरुरी छैन । अहिलेको राष्ट्रिय आवश्यकताको कोणबाट सम्भव भएसम्म सहमतिको लागि प्रयास गरिने कुरालाई सकारात्मक रुपमा लिनुप¥यो ।’

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले तोकिएको समयभित्रै राष्ट्रपतिको निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले केही समस्या भएमा निर्वाचन आयोगले समाधान गर्नुपर्ने बताउनु भयो ।

उहाँले राष्ट्रपति पदका लागि विपक्षी दलका नेताहरुले राष्ट्रिय सहमतीको कुरा गर्नु साँघुरो चिन्तन भएको टिप्पणी गर्नुभयो । उहाँले राष्ट्रिय सहमती एजेण्डा र संवैधानिक प्रक्रियामा गर्नुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय सहमतिलाई हल्का रुपमा नलिन आग्रह पनि गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘मेरो सोधाई के छ भने रामचन्द्र दाईलाई पौष १० गते अगाडी त यो गीत गाउनु भएन उहाँले । यो गित अचानक पौष १० गते पछाडी किन आयो रु राष्ट्रिय सहमति हुनुपर्छ । राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुहुन्न भन्ने हाम्रो भनाई होइन । तर राष्ट्रिय सहमति भनेको पदको बाँडफाँट होइन । राष्ट्रिय सहमति भनेको एजेण्डामा सहमति हो । संवैधानिक प्रक्रियामा सहमति हो । पदीय बाँडफाँटमा राष्ट्रिय सहमति एकदमै साँघुरो चिन्तन हो । रामचन्द्र दाईजस्तो एउटा वरिष्ठ नेताले त्यो आशयले बोल्नुभएको हो कि होइन मलाई थाहा छैन । तर राष्ट्रिय सहमतिलाई यति हल्का रुपमा नलिऔँ ।’

नेपाली काँग्रेसका प्रवक्ता तथा सांसद डा।प्रकाशशरण महतले समयमै राष्ट्रपतिको निर्वाचन हुनुपर्ने बताउनु भयो । उहाँले राष्ट्रपति निर्वाचनलाई अनिश्चित र अन्यौल राख्नु नहुने बताउनु भयो । राष्ट्रपति निर्वाचनलाई समयमै टुंगो लगाउनुपर्नेमा उहाँको जोड छ ।

उहाँले भन्नुभयो – ‘समयमै राष्ट्रपतिको निर्वाचन हुनुपर्छ भन्ने हाम्रो निस्कर्ष हो । सरकारको पनि हामीले ध्यानाकर्षण गराएका छौँ । निर्वाचन आयोगलाई पनि हामी ध्यानाकर्षण गराउँछौ । यसलाई अनिश्चित गर्नुहुन्न । अन्यौल राख्नुहुन्न । समयमै यसलाई टुंगो लगाउनुपर्छ ।’

फरक प्रसंगमा संसद बैठकपछि सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै जनमत पार्टीका अध्यक्ष सिके राउतले आफुहरुले उद्योग मन्त्रालय पाए मात्रै सरकारमा सहभागि हुने बताउनु भयो । उहाँले आफुहरु सरकारमा काम गर्न जाने भन्दै सो मन्त्रालयबाट मात्रै आफूहरुको एजेण्डा कार्यान्वयन गर्न सहज हुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सहमति अनुसार मन्त्रालय हुनुपर्छ । उद्योग मन्त्रालय पायो भने हाम्रो एजेण्डा कार्यान्वयन गर्न सहज हुन्छ । हामी काम गर्नका लागि जाने हो । हामीलाई उद्योग मन्त्रालय दिने औपचारिक जानकारी छैन । हामी आशा गर्छौं कि अर्को मन्त्रिपरिषद् बैठकबाट यो कुरा टुंगिन्छ ।’उहाँले आगामी मन्त्रिपरिषद् बैठकबाट सो विषय टुंगोमा पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com