प्रतिनिधि र प्रदेश सभाबीच अनुभवको आदानप्रदान हुनुपर्छः सभामुख

प्रतिनिधि र प्रदेश सभाबीच अनुभवको आदानप्रदान हुनुपर्छः सभामुख

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय भुमिकालाई प्रभावकारी बनाउन प्रतिनिधि सभा र प्रदेश सभाको बीचमा अनुभवहरुको आदानप्रदान हुनुपर्ने बताउनुभएको छ ।

सोमवार नवनिर्वाचित सभामुखलाई बधाई तथा शुभकामना व्यक्त गर्न सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेको स्पिकर्स फोरम नेपालका प्रतिनिधिहरुसँग कुरा गर्दै उहाँले संसदीय भुमिकालाई प्रभावकारी बनाउन आपसमा अनुभवहरुको आदानप्रदान हुनुपर्ने बताउनुभएको हो ।

उहाँले प्रदेश सभाले प्रतिनिधि सभाका कारण कतिपय ऐनहरु बनाउन नसकेको र कतिपय प्रदेशमा ऐन बन्न नसकेका कारण माथि अफ्ठ्याराहरु सिर्जना भएको गुनासो आएको भन्दै ति कुराहरुको सम्बोधन गर्न आपसमा मिलेर अघि बढ्नुपर्ने बताउनु भयो ।

उहाँले ऐन कानूनहरु ठिक समयमा ठिक ढंगले बन्नुपर्ने बताउनु भयो । कुनैपनि कानूनको अभावमा जनताको काममा अवरोध हुनु नहुने उहाँले बताउनु भयो ।

सभामुख घिमिरेले संसदीय राजनीतिलाई राम्रो बनाउनका लागि स्पिकर्स फोरम नेपालको महत्वपूर्ण भुमिका हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

उहाँले स्पिकर्स फोरम नेपालको स्थापना हुनु नेपाली राजनीतिका लागि राम्रो कामको शुरुवात भएको बताउनु भयो । संस्थाको विकासका निम्ति आफ्नो ठाउँबाट भुमिका खेल्ने उहाँको भनाई छ ।

सभामुख घिमिरेलाई बधाई तथा शुभकामना व्यक्त गर्दै स्पिकर्स फोरम नेपालका संयोजक राजबहादुर शाहीले सभामुखले प्रदेशका सभामुखहरुसँग छलफल गर्दा आफूहरुलाई पनि समावेश गराउन आग्रह गर्नुभयो ।

उहाँले पूर्व सभामुख तथा पूर्व उपसभामुखको रुपमा आफूहरुले हासिल गरेका अनुभवहरुले आगामी दिनमा सभा सञ्चालनमा सहयोग पु¥याउने बताउनु भयो । संयोजक शाहीले सभामुखले संसदको गरिमा र महत्वलाई स्थापित गराउने अपेक्षा आफूहरुले गरेको बताउनु भयो । उहाँले विधायकी कामलाई प्रभावकारी बनाउन जनस्तरमा वहश र पैरवी गर्नु आवश्यक रहेको भन्दै सो कामको नेतृत्व सभामुखबाट हुने विश्वास व्यक्त गर्नुभयो ।

वागमती प्रदेश सभाका पूर्व सभामुख सानुकुमार श्रेष्ठले विगत पाँच वर्षको अवधिमा प्रदेश सभाहरुले गरेका कामको समिक्षा हुनुपर्ने बताउनु भयो । उहाँले प्रदेशमा बन्न बाँकी रहेका कानूनहरु बनाउनका लागि संघले पनि घच्घचाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘प्रदेशमा अझै पनि बन्न बाँकी कानूनहरु छ । बन्न बाँकी कानूनहरु संघले कानून नबनाएका कारण पनि भएको छ । त्यसकारण संघले पनि प्रदेशका लागि कानून बनाउनको निम्ति घच्घचाउनुपर्ने र तल बनाउनुपर्ने । ति कुरा गर्नसक्यो भने राम्रो हुन्छ भन्ने लागेको छ ।’

उहाँले आगामी दिनमा छलफलहरु गर्दा आफूहरुलाई पनि समावेश गराउन र अनुभवहरुको आदानप्रदान गर्न अनुरोध गर्नुभयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com