‘यो सरकार लाज पचाएर कुर्सीमा बसेको छ’

‘यो सरकार लाज पचाएर कुर्सीमा बसेको छ’

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार राष्ट्रघाती र बेइमान भएको बताएका छन् । ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा ८औँ दिन बागलुङ बजारमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार र सरकारमा बसेका दलप्रति आक्रोश पोखेका छन् ।

नेपालको चरम असफलतामा गैर जिम्मेवार सरकार र गठबन्धन भएको पनि ओलीको आरोप छ । ‘देशमा अराजकता बढाउने, गैर राजनीतिक कुसंस्कारलाई प्रश्रय दिने, जनतामा निराशा बढाउने यो सरकार लाज पचाएर कुर्सीमा बसेको छ,’ ओलीले भने, ‘यो सरकारले न विकास गर्छ, न राष्ट्रिय हितमा काम गर्छ ।’ यही सरकार रहिरहे देश बर्बाद हुनेसमेत ओलीको भनाइ छ ।

बुधबार बागलुङकै बुर्तिवाङमा आयोजित सभामा ‘राजनीतिबाट माथि उठेर विकासमा लाग्न’ कार्यकर्ता र अन्य राजनीतिक शक्तिलाई आह्वान गरेका ओली भोलिपल्टै सत्ता गठबन्धनप्रति आक्रामक देखिएका हुन् । ‘जहाँ–जहाँ सडक बनेका छैनन् त्यहाँ काँग्रेसले ठेक्का लिएको छ’ ओलीले भने, ‘सरकार त विकास गर्न नसक्ने लुते नै भयो ।’ पोखरा विमानस्थल आफूले बनाएर छाडेको उल्लेख गर्दै उनले छिमेकीसँग डराएकाले सरकारले सञ्चालन गर्न नसकेको उनले बताए ।

‘यो सरकार कम्फरटेबलवाला हो, त्यसैले ऊ रिसाउँछ कि भनेर जहाज ल्याउन दिएको छैन,’ ओलीले भने, ‘न कुर्सी छाड्छ, न काम गर्छ, यस्तो देख्दा एमालेको मन पोलेको छ ।’ ओलीले मिसन-०८४ मार्फत एमालेले एकल सरकार बनाएर जनताका सपना पूरा गर्ने दाबी गरे ।

फरक प्रसङ्गमा अध्यक्ष ओलीले बैंकहरूले ब्याज बढाएर आम नेपालीलाई सास्ती दिएको उनको टिप्पणी थियो । उनले ऋणी र बचतकर्ता नभएसम्म बैंक बन्द हुने कुरा हेक्का राख्न सञ्चालकलाई चेतावनी दिए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com