पूर्वप्रधानमन्त्रीको क्लबमा हुने निर्णय मान्दैनौँ, पार्टी कसैको निजी कम्पनी होइन : गगन थापा

पूर्वप्रधानमन्त्रीको क्लबमा हुने निर्णय मान्दैनौँ, पार्टी कसैको निजी कम्पनी होइन : गगन थापा
RANJITA ADHIKARI

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकटक बन्द गर्ने निर्णयमा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहमति रहेको भनी दिएको अभिव्यक्तिको विरोध गरेका छन् । उनले आफ्नो पार्टी नेपाली काँग्रेससँग कहाँ र कहिले छलफल भयो र कहिले र कसले सहमति गर्‍यो भनी प्रश्न गरेका छन् ।

मङ्गलवार सामाजिक सञ्जालमा थापाले लेखेका छन्, “प्रधानमन्त्रीले भन्नुभएछ– ‘सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएर टिकटक बन्द गर्ने निर्णय गरिएको हो ।’ प्रमज्यूलाई प्रश्न छ, कुन सहमति ? हाम्रो पार्टी नेपाली काँग्रेससँग कहाँ र कहिले भयो छलफल ? कहाँ भयो सहमति ? कहिले, कसले गर्‍यो सहमति ?”

“प्रमज्यू, पूर्वप्रधानमन्त्रीज्यूहरूको क्लबको बन्द कोठाका बैठकमा हुने सम्झौता पार्टीहरूको बीचमा भएको सहमति नभन्नुहोस्, नभन्ठान्नुहोस् । यो तपाईंहरूबीचको समझदारी हो, पार्टीहरू बीचको होइन । पार्टी भनेको पार्टी प्रमुखको निजी कम्पनी होइन, कुनै मत पार्टीको मत हुन पार्टीभित्र छलफल हुनुपर्छ । अतः पार्टी प्रमुखहरू बसेर गर्ने यस्ता लहडी निर्णय र सम्झौताको भारी हामी बोक्दैनौ पार्टीले बोक्न सक्दैन,” थापाले भनेका छन् ।

उनले अगाडि भनेका छन्, “जहाँ प्रजातन्त्रको आधारभूत विषय आउँछ, त्यहाँ निर्णय गर्ने ठाउँमा को छ हेरिँदैन । हिजो ज्ञानेन्द्रको शासन हुँदा होस् वा केही समय अगाडि नेकपाको सरकार हुँदा होस्, जहिले–जहिले अभिव्यक्ति स्वतन्त्रतामाथि धावा बोल्ने र अंकुश लगाउने काम भयो, हामी त्यसको विरुद्ध उभिएका छौँ, उभिरहने छौँ । हिजो त्यहीँ काम अरूले गर्दा गलत, हामीले गर्दा सही हुँदैन ।”

सरकारले सोमबार मात्र नेपालमा टिकटक प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । जसलाई लिएर सत्ता साझेदार दलहरूकै नेताहरूले विरोध गरिरहेका छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com