काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपचुनावअघि आफूहरू सरकारमा सहभागी नहुने बताएका छन् । उनले शनिबार भएको पत्रकार सम्मेलनमा उपनिर्वाचनपछि मात्रै सरकारमा जाने कि सरकारलाई दिएको समर्थन कायमै राख्ने वा फिर्ता लिने भन्ने निर्णय हुने बताए ।
"हामी चुनावमा गठबन्धन गर्दैनौँ । सार्वजनिक भइसकेको छ । असाध्यै विशेष परिस्थितिबाहेक निर्वाचन आयोगले पनि चुनावमा गठबन्धन गर्न दिनुहुँदैन । हामीले हेर्ने नीति हो । अधिकांश बुँदाहरु समावेश गरेका छौँ । कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोल्नैपर्छ । सरकारमा सहभागिता निर्वाचनअघि सोचेका छैनौँ," उनले भने ।
अब कांग्रेसमा फर्किन्न : स्वर्णिम वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अब रास्वपा नछाड्ने बताएका छन् । ‘म रास्वपाको साधारण सदस्य भएर आएको हुँ। म फेरि नेपाली कांग्रेसमा फर्किन्न। मेरो पछाडि फर्किने बानी छैन। गण्डकी प्रदेशको पानी खाएको छु,’ उनले भने । यो देशलाई देखिन लायक बनाउन युवाहरू लाग्न आवश्यक रहेको उनको भनाइ छ ।