जसले श्रीमतीका दुई प्रेमीको पालैपालो हत्या गरे…

जसले श्रीमतीका दुई प्रेमीको पालैपालो हत्या गरे…

चितवन । एक भारतीय पुरुषले आफ्नी पत्नीसहित उनका दुई प्रेमीको पालैपालो हत्या गरेको खुलासा भएको छ ।

भरतपुरको मिलन चोक नजिकै कल्भर्टमुनि गत ६ मंसिरमा पुरुष र महिलाको शव भेटिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले गरेको अनुसन्धानबाट मृतकहरु प्रेमी प्रेमिका भएको खुलासा भएको हो ।

भरतपुर महानगरपालिका–१२ मिलन चोकको कल्भर्टमा गत ६ मंसिरमा महिला र पुरुषको शव बोरामा पोको पारेको अवस्थामा भेटिएको थियो । घटनाको कारण विवाहेत्तर सम्बन्ध रहेको ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीले बताए । उनका अनुसार हत्यामा मृतक महिलाका श्रीमान भारतीय नागरिक ३३ वर्षीय अखिलेश भगत संलग्न छन् । मृतक भारत बिहार राज्य मोतिहारी जिल्लाअन्तर्गत फुलबारिया सुगौलीका १९ वर्षीय ऋषभकुमार कुशवाहा र मोतीहारीकै सुगांव डीहकी ३० वर्षीया अस्मिता भनिने सन्जु देवी भएको प्रहरीले जनाएको छ । ऋषभ नाताले अखिलेषका भजित हुन् ।

ऋषभ र सन्जु मिलचोकमा गत कात्तिकदेखि कोठा भाडामा लिएर बसेका थिए । भारतीय प्रहरीको नियन्त्रणमा रहेका भगतले आफूले २ मंसिरमा कोठामा गएर उनीहरुको हत्या गरेको स्वीकार गरेका छन् । भारतीय प्रहरीले उनलाई अपहरण र व्यक्ति बेपत्तासम्बन्धी एफआईआर दर्ता गरी पुस १६ मा पक्राउ गरेको थियो ।

उनी हाल केन्द्रीय कारागार मोतिहारीमा भएको जानकारी आएको एसपी अधिकारीले बताए । प्रहरीका अनुसार यो घटनाअघि अखिलेश र ऋषभले अर्का एक भारतीय युवकको सहयोगमा गत अक्टोबरमा भारतमै सन्जुका अर्का प्रेमी २२ वर्षीय रितेश साहको पनि हत्या गरेको खुलासा भएको छ । अखिलेशले भारतीय प्रहरी समक्षा भारतमा हत्या गरिएका र श्रमितीसँग चितवनमा मारिएका ऋषभकुमार र रितेश दुवै श्रीमतीका प्रेमी भएको बयान दिएका छन् ।

अखिलेष, ऋषभ र रितेश मिलेर कालीमाटीस्थित तरकारी बजारमा तरकारी र फलफूलको व्यापार गर्थे । सोही समयमा सन्जुको ऋषभ र रितेश दुवैसँग प्रेम सम्बन्ध भएको थियो । ऋषभ र रितेश सन्जुसँगको दोहोरो सम्बन्धबारे जानकार थिए । दुईबीच सोही विषयमा विवाद बढ्दै जाँदा बेलाबेला झगडा समेत हुने गरेको थियो । सन्जु र रितेशबीच प्रेम सम्बन्ध रहेको र सोही कारण रितेशले सन्जुलाई दुःख दिने गरेको भन्दै ऋषभले अखिलेषलाई पोल लगाए ।

त्यसपछि अखिलेष र ऋषभले अर्का भारतीय युवकको सहयोग लिएर रितेशको हत्या गरेका थिए । गत २३ अक्टोबरमा रितेशको अपहरणपछि हत्या गरेको प्रहरीलाई उद्धेत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

घटनाको एक सातापछि सन्जु घर छाडेर हिंडेकी थिइन् । श्रीमती खोज्दै हिंडेका उनले सन्जुदे र ऋषभ भरतपुर–९ मा कोठा भाडामा लिएर सँगै बस्ने गरेको पत्ता लगाए । त्यसपछि मंसिर २ गते राति उनीहरुको कोठामै पुगेर उनले श्रीमती र ऋषभको हत्या गरी शव मिलनचोक नजिकै कल्भर्टमा फालेर भारत पसेका थिए ।

Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com