
काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लवले साविक विजेता न्यु डायमण्ड स्पोर्टस क्लवमाथि ३–२ को सेटमा रोमाञ्चक जित निकाल्दै राधानीमा जारी सातौैं एनभिए महिला तथा पुरुष क्लव भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा समूह विजेताको छिनोफानोका लागि भएको प्रतिष्पर्धामा पुलिसले न्यु डायमण्डलाई ३–२ को सेटमा पराजित गर्दै समूह ‘ए’ को विजेता बनेको हो । हारका बावजुत न्यु डायमण्ड समूह उपविजेता बन्यो ।
पहिलो सेटमा २५–२२ ले आफ्नो पक्ष बनाएको पुलिसले दोस्रो सेट डायमण्डलाई २५–२२ ले सुम्पिएको थियो ।
तेस्रो सेट २५–१४ ले जित्दै पुलिसले खेलमा २–१ को अग्रता बनाएको प्रतिष्पर्धमा न्यु डायमण्डले चौथो सेट डायमण्डले २५–२३ पुनरागमन ग¥यो ।
निर्णायक तथा पाँचौं सेटमा पुलिस १५–१० ले बाजी मार्दै समूह विजेता बन्न सफल भयो ।
जितसँगै पुलिसले ३ खेलबाट ८ अंक जोड्दा डायमण्डले ७ अंक बनाउन सफल भयो । यही समूहमा एभरेष्ट नयाँ बजार अंकबिहीन हुँदै प्रतियोगिताबाट बाहिरिए ।
यस्तै बिहीवार नै समूह ‘बी’ को खेलमा नेपाल एपिएफ क्लवले कृष्ण सेकेण्डरी एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गरी लगातार दोस्रो जित निकाल्यो । एपिएफले कृष्णमाथि २५–४, २५–६ र २५–३ को एकपक्षीय जित निकाल्न सफल भएको हो ।
प्रतियोगिता अन्तर्गत बिहीवार नै सम्पन्न पुरुष तर्फको प्रतिष्पर्धामा केशवलाल स्मृति भलिबल प्रशिक्षण केन्द्र, हेल्प नेपाल स्पोर्टस क्लव, गण्डकी प्रदेश र विभागीय टोली एपिएफले क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।
राखेप कोर्टमा सम्पन्न खेलमा केशवलालले बुढानिलकण्ठ भलिबल क्लवलाई पराजित गर्ने क्रममा शुरुवाती सेटमा २७–२५ को रोमाञ्चक जित निकालेको थियो । त्यसपछि बाँकी सेटमा भने केशवलालले सहज जित निकाल्न सफल भएको थियो ।
सोही क्रममा केशवलालले दोस्रो सेटमा २५–१८ र तेस्रो सेटमा २५–१६ को सहज जित निकालेको हो । यस जितसँगै केशवलालले ३ खेलबाट ६ अंक जोडेको छ । केशवलाल उपविजेता बन्न सफल भयो । बुढानिलकण्ठले ३ खेलबाटै ३ अंक जोड्यो ।
पुरुषतर्फकै अर्को खेलमा मधेस प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकालेको हेल्प नेपाल समूह डी को विजेता बन्यो । हेल्प नेपालले मधेसमाथि पहिलो सेटमा २५–१८ को जित निकाल्दा दोस्रो सेटमा २५–२२ र तेस्रो सेटमा २५–८ को सहज जित निकाल्न सफल भएको हो ।
यस जितसँगै हेल्प नेपालले सबै तीन खेलमा स्पष्ट जित निकाले तालिकामा ९ अंक जोड्नसक्यो ।
समूह सी को खेलमा गण्डकी प्रदेशले ढोरपाटन प्रशिक्षण केन्द्रलाई सोझो सेटमा हराउँदै च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
गण्डकी समूह ‘सी’ को उपविजेता बन्दै क्वार्टरफाइलनमा प्रवेश गरेको हो । समूह सी बाट विभागीय टोली नेपाल पुलिस क्लव समूह विजेता बनिसकेको छ भने पराजित ढोरपाटन समूह चरणबाटै घर फर्किएको छ । गण्डकीले सहज जित निकाल्ने क्रममा ढोरपाटनमाथि २५–१२, २५–९ र २५–१० को सेटमा स्तब्ध बनाएको हो ।
यस्तै पुरुषतर्फ बिहीवार सम्पन्न दिनको अन्तिम खेलमा अर्को विभागीय टोली एपिएफले शैलुङ बागढुंगामाथि पनि सोझो सेटमा जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनायो ।
पहिलो सेटबाट नै दबाब राखेर खेलेको एपिएफले शैलुङबिरुद्ध पहिलो सेटमा २५–१३, दोस्रो सेटमा २५–१७ र तेस्रो सेटमा २५–२१ को जित निकाल्न सफल भयो । यससँगै एपिएफ समूह विजेता बन्दा शैलुङ उपविजेता बन्यो । एपिएफले दुई खेलबाट तालिकामा ६ अंक जोड्दा शैलुङले २ खेलबाट ३ अंक जोड्यो ।