हान्झाउ । चीनको हान्झाउमा भइरहेको १९औँ एसियाड अन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनल प्रवेश गरेको छ ।
शुक्राबार चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा एलिमिनेसन राउण्ड (क्वाटरफाइनल) खेलमा आफ्नो समूहमा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो । अन्य सामान्य गेमभन्दा फरक शैलीको यस खेलमा सेमिफाइनलमा दुई समूहमा चार चार टिमले प्रतिस्पर्धा गर्नेछन् ।
सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समीर गुरुङ र सङ्गिन भट्टराई सम्मिलित नेपाली टिमले शुक्रबार ५४ मिनेट ०४.८४२ सेकेण्डको टाइमिङ निकाल्दै समूह सीमा दोस्रो भएको हो । यस समूहमा हङकङ शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको छ । प्यालेस्टाइन र साउदी अरेबिया भने यस समूहबाट बाहिरियो ।
यसअघि पहिलो चरणमा नेपाल आफ्नो समूहमा दोस्रो भएको थियो । तर दोस्रो हुनेमध्येबाट पनि उत्कृष्ट बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।
यस्तै शुक्रबारै भएको एलिमिनेसन अन्तर्गत समूह ए बाट दक्षिण कोरिया र थाइल्याण्ड, समूह बी बाट आयोजक चीन र चाइनिज ताइपेई तथा समूह डी बाट जापान र इन्डोनेसियाले सेमिफाइनलमा स्थान बनाएका छन् ।
अब यी आठ टोलीलाई सेमिफाइनलमा चार/चार टोलीको दुई समूहमा विधाजन गरेर खेलाइनेछ । सेमिफाइनलमा दुवै समूहको शीर्ष दुई स्थानमा रहने दुई(दुई टोली फाइनल चरणमा पुग्नेछन् । फाइनल चरणमा चार टोलीबीच प्रतिस्पर्धा हुनेछ । जसमा शीर्ष तीन टोलीले पदक पक्का गर्नेछन् ।
नेपाल सेमिफाइनलमा आफ्नो समूहमा शीर्ष दुई स्थानमा रहे फाइनल पुग्नेछ र त्यसमा शीर्ष तीनमा रहेमा पदक पक्का गर्नेछ ।