एसिया कपको उपाधिका लागि भारत र श्रीलङ्का भिड्दै

एसिया कपको उपाधिका लागि भारत र श्रीलङ्का भिड्दै
Published on
Updated on

काठमाडौँ । एसीसी एसिया कप क्रिकेटको उपाधिका लागि आज श्रीलङ्का र भारत भिड्दै छन्। ​

श्रीलङ्काको प्रेमदासा स्टेडियममा आज दिउँसो सवा ३ बजे खेल शुरु हुनेछ। ६ पटकको विजेता श्रीलङ्का र ७ पटकको विजेता भारतबीच एसिया कपमा दोस्रो पटक खेल हुन लागेको हो।

भारतले सुपर फोरमा श्रीलङ्कालाई नै पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरेको थियो। २ सय १३ रनको लक्ष्य पछ्याएको श्रीलङ्का १ सय ७२ रनमा अल आउट भएको थियो। श्रीलङ्काले उपाधि दाबेदार पाकिस्तानलाई २ विकेटले हराएर भारतसँगको भेट पक्का गरेको हो।

एसिया कपको फाइनलमा यी दुई टोलीबीच ८ पटक आमने सामने भएका छन्। पाँच पटक भारतले श्रीलङ्कालाई हराएर उपाधि जितेको छ भने श्रीलङ्काले ३ पटक भारतलाई हराएर उपाधि आफ्नो पक्षमा पारेको छ। फाइनलअघि दुवै टिमलाई खेलाडीको चोटले झट्का लागेको छ।

आज हुने खेलमा श्रीलङ्काका स्पिनर माहिस थिक्सानाले एसिया कपको फाइनल खेल गुमाउने भएका छन्। भारतविरुद्धको खेल उनले चोटका कारण गुमाउने भएका हुन्। २३ वर्षीय थिक्साना सुपर फोर अन्तर्गत पाकिस्तानसँगको खेलमा घाइते भएका थिए। उनको दाहिने ह्यामिस्ट्रङमा समस्या देखिएको थियो। स्क्यानपछि उनले खेल्न नसक्ने निश्चित भएको श्रीलङ्का क्रिकेट बोर्डले जानकारी दिएको छ।

जारी प्रतियोगितामा थिक्सानाले ५ खेलमा ८ विकेट लिएका छन्। थिक्सानाको स्थानमा साहन आराचिगीले खेल्ने भएका छन्। त्यस्तै, भारतका अल राउन्डर अक्षर पटेल पनि चोटकै कारण श्रीलंकासँगको खेल गुमाउने भएका छन्। उनी शुक्रबार बंगलादेशविरुद्धको खेलमा घाइते भएका हुन्। अक्षर पटेलको स्थानमा वासिङटन सुन्दरलाई टिममा बोलाइएको छ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com