सिटी र आर्सनल विजयी हुँदा रोकियो लिभरपुल बराबरीमा

सिटी र आर्सनल विजयी हुँदा रोकियो लिभरपुल बराबरीमा

लन्डन । इंग्लिस प्रमियर लिगमा शीर्ष स्थानको आर्सनल र दोस्रो स्थानको म्यानचेस्टर सिटीले जित निकाल्दा लिभरपुल भने फेरि एक पटक बराबरीमा रोकिएको छ । शनिबार राति आर्सनलले लेस्टर सिटीलाई १-० ले हराउँदा उसका लागि मार्टिनेलीले ४६ औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो।

त्यस्तै, म्यानचेस्टर सिटीले भने बर्नमाउथ माथि ४-१ फराकिलो जित निकाल्यो। सिटीका लागि खेलमा जुलियन अल्भारेजले १५ औँ मिनेटमा नै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। दोस्रो गोल अर्लिङ हालान्डको नाममा रह्यो। उनले २९ औँ मिनेटमा गोल गर्दा पहिलो हाफमा नै ३-० को अग्रता दिलाउन फिल फोडेनले ४५ औँ मिनेटमा तेस्रो गोल गरे।

बर्नमाउथका मेफामले ५१ औँ मिनेटमा आत्मघाती गोल गर्दै टिमलाई ४-० को अवस्थामा पुर्‍याए। तर लेर्माले ८३ औँ मिनेटमा एक गोल फर्काएका थिए। लिभरपुल भने क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकियो। लिभरपुलले गोलका प्रयास गरे पनि उसका केही प्रहार पोलमा लागेर फर्किँदा गोलविहीन बन्यो।

डियोगो जोता र मोहम्मद सलाहका प्रहार पोलमा लाग्दा लिभरपुल स्तब्ध बनेको थियो। केही दिनअघि च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा लिभरपुल रियलसँग अप्रत्याशित रूपमा फराकिलो हारको सिकार भएको थियो।

त्यस्तै, अन्य खेलमा एस्टन भिल्लाले एभर्टनलाई २-० ले पराजित गर्दा लिड्सले साउथहेम्टनलाई १-० तथा वेस्टह्यामले नटिङहम फरेस्टलाई ४-० ले पराजित गर्‍यो । आर्सनलले जितसँगै २४ खेलबाट ५७ अङ्क बनाएको छ। एक खेल बढी खेलेको सिटीको ५५ अङ्क रहेको छ। बराबरीमा रोकिएको लिभरपुल २३ खेलबाट ३६ अङ्क जोड्दै सातौँ स्थानमा छ। उसको शीर्ष चारको सम्भावना कमजोर बनेको छ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com