जिम्बाब्वेविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

जिम्बाब्वेविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप ग्लोबल छनोटमा नेपालले घरेलु टोली जिम्बाब्वेविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ ।

हरारेमा सुरु भएको खेलमा जिम्बाब्वेले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङको निम्तो पाएको हो । नेपालले ओपनरका रुपमा कुशल भुर्तेल र आसिफ शेखलाई मैदानमा उतारेको छ ।

टेस्ट मान्यता प्राप्त राष्ट्रसँग नेपालले ओडीआई खेलेको यो पहिलो पटक हो । नेपालले अहिलेसम्म खेलेका ५१ ओडीआई सबै एसोसिएट राष्ट्रविरुद्ध हुन् ।

नेपाल विश्व क्रिकेट लिग टूको शीर्ष तीनमा रहँदै सिधै ग्लोबल छनोटमा स्थान बनाउन सफल भएको थियो । जिम्बाब्वे सुपर लिगबाट झरेको हो । छनोटको तयारी स्वरुप नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग दुई अभ्यास खेल खेलेको थियो । खराब ब्याटिङ गरेको नेपाल दुवैमा पराजित भयो । प्रतियोगितापूर्वको अन्तिम वार्मअपमा भने नेपालले ओमानलाई २ विकेटले पराजित गर्दा कुशल भुर्तेलले शतक प्रहार गरेका थिए । पहिलो वार्मअपमा भने नेपाल यूएईसँग हारेको थियो ।

कप्तान रोहित पौडेलले यो प्रतियोगिताका लागि टिमले लामो समयदेखि मेहनत गरेको बताएका छन् । जिम्बाब्वेका कप्तान क्रेग अर्भिनले ग्लोबल छनोटका लागि टिमको तयारी उत्कृष्ट रहेको प्रतिक्रिया दिए ।

नेपाल र जिम्बाब्वे ५० ओभरको खेलमा यसअघि २०१८ मा आमनेसामने भएका थिए । जसमा जिम्बाब्वे १ सय १६ रनले विजयी भएको थियो ।

आजै हुने समूह ‘ए’ को अर्को खेलमा वेस्टइन्डिज र अमेरिका आमनेसामने हुनेछन् । नेदरल्यान्ड्स पनि यसै समूहमा छ ।

समूह ‘बी’ मा आयरल्यान्ड, ओमान, स्कटल्यान्ड, श्रीलंका र यूएई छन् । दुवै समूहका शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । त्यसबाट दुई टिमले आगामी अक्टोबरमा भारतमा हुने विश्वकपमा स्थान सुरक्षित गर्नेछन् । विश्व कप खेल्ने आठ टिम यसअघिनै छनोट भइसकेका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com