टी-२० विश्वकप : उत्कृष्ट प्रदर्शन गर्ने योजनामा नेपाल

टी-२० विश्वकप : उत्कृष्ट प्रदर्शन गर्ने योजनामा नेपाल

काठमाडौं । आईसीसीले टी-ट्वेन्टी विश्वकपको समूह, खेल तालिका र स्थान सार्वजनिक गरेसँगै नेपालले समूह चरणमा कुन कुन टोलीसँग खेल्छ भन्ने टुङ्गो लागेको छ । समूह डी मा परेको नेपालले समूह चरणमा पहिलो पटक तीन वटा टेस्ट टोलीसँग प्रतिस्पर्धा गर्दै छ । विश्व वरीयतामा निकै अगाडि रहेका टोलीलाई प्रतिद्वन्द्वीका रूपमा भेटे पनि नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ ।

आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा नेपाल समूह डीमा परेको छ । यही समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स पनि छन् । अन्य समूहमा दुई-दुई टेस्ट टोली अटाउँदा समूह डीमा भने ३ वटा टेस्ट टोली दक्षिण अफ्रिका, बंगलादेश र श्रीलंका छन् ।

जहाँ दक्षिण अफ्रिकालाई सबै भन्दा बलियो मान्दा पछिल्लो समय श्रीलंका र बंगलादेशको स्तर खस्कँदो छ । यी दुई टोलीलाई पछिल्लो समय एसोसिएट टोलीले पनि पराजित गरेका छन् । दक्षिण अफ्रिका भने यस पटकको उपाधि दाबेदार टोली हो । दक्षिण अफ्रिका दुई महिनाअघि भारतमा सम्पन्न ओडीआई विश्वकपको सेमिफाइनलमा अस्ट्रेलियासँग पराजित हुँदै बाहिरिएको थियो ।

यस समूहमा नेदरल्यान्ड्स र नेपाल मात्र एसोसिएट टोली हुन् । पछिल्ला पाँच टी-२० आईमा नेपालले नेदरल्यान्ड्सलाई ३ पटक हराएको छ । तर, डच टोलीले पछिल्लो समय विश्व क्रिकेटमा धेरै सानदार प्रदर्शन गर्दै आएको छ । उसले ठूला टेस्ट टोलीलाई लगातार स्तब्ध बनाएको छ ।

नेपाल सम्मिलित समूहमा ३ वटा टेस्ट टोली रहे पनि अन्य समूह भन्दा यस समूहलाई केही सहज मान्न सकिन्छ । यस समूहबाट दक्षिण अफ्रिका अपराजित हुँदै सुपर ८ मा पुग्न सक्छ । सुपर ८ मा पुग्ने दोस्रो टोलीका लागि अन्य चार टोलीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ ।

यस समूह रहेकामध्ये श्रीलंकाले मात्र टी-२० विश्वकप जितेको छ । उसले २०१४ मा भारतलाई ६ विकेटले पराजित गर्दै विश्वकप जितेको थियो । सोही संस्करणको विश्व कपमा पहिलो पटक सहभागी बनेको नेपाल बंगलादेशसँग नेटरनरेटमा पछि पर्दै पहिलो चरणबाटै बाहिरिएको थियो ।

यस विश्वकपमा नेपालले श्रीलंका र दक्षिण अफ्रिकासँग पहिलो पटक प्रतिस्पर्धा गर्ने छ । अघिल्लो संस्करणका विश्वकपमा १६ टोली सहभागी हुन्थे । जहाँ समूह चरणपछि सुपर सिक्सका खेलहरू खेलिन्थे । तर यस पटक भने २० टोली सहभागी हुँदा सुपर ८ मा पुग्ने टोलीहरूलाई पुनः दुई समूहमा विभाजन गरिने छ ।

नेपालले जुन ४ मा अमेरिकाको डालासमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकप अभियानको सुरुवात गर्ने छ । जुन ११ मा लोरिडामा श्रीलंकासँग खेलिसकेपछि नेपाल क्यारेबियन भ्रमणमा निस्कने छ । जहाँ द राइनोजले सेन्ट भिन्सेन्टमा जुन १४ दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्ने छ । नेपालले अमेरिकामा लिग टूका खेल खेलेको छ भने वेस्ट इन्डिजमा पहिलो पटक खेल्ने छ ।

नेपालले ३ वटा टेस्ट टोली र नेदरल्यान्ड्समध्ये कुन कुन टिमलाई पराजित गर्ला ? के नेपाल इतिहास रच्दै सुपर ८ मा पुग्ला ? नेपालले पछिल्लो समय गर्दै आएको प्रदर्शन र टी-२० क्रिकेट टिममा आवश्यक पर्ने युवा जोसले नेपालको सम्भावना बलियो भएको संकेत गर्छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com