भलिबल : विभागीय टोलीको विजयी शुरुवात

भलिबल : विभागीय टोलीको विजयी शुरुवात

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लव र नेपाल पुलिस क्लवले आईतवारबाट काठमाडौमा शुरु भएको सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लव भलिबल प्रतियोगितामा विजयी शुरुवात गरेका छन् । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा पुरुषतर्फको आर्मीले दावाली मिलन केन्द्रलाई र नेपाल पुलिसले न्युटन भलिबल एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै सुखद् शुरुवात गरेका हुन् ।

यस्तै महिलातर्फ पुलिसले नयाँ बजार सामाजिक युवा क्लव र आर्मीले कृष्ण सेकेण्डरी एकेडेमीमाथि जित निकालेका हुन् । पुरुषतर्फ विभागीय टोली आर्मीले तीन भारतीय खेलाडी सम्मिलित दावाली मिलान क्लवलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

पहिलो सेटबाट दावालीमाथि २५–२० को सहज जित निकालेको आर्मीले दोस्रो सेटमा भने मेहनत गर्नुपरेको थियो । दोस्रो सेटमा आर्मीले उत्कृष्ट पुनरागमन गर्दै २५–२१ को जित निकालेको हो । १०–१५ ले पछि परेको आर्मीले दावालीबिरुद्ध  १९–१९ मा भेटाउँदै नतिजा उल्टाउन सफल भएको थियो ।

त्यसपछि दावालीले २ अंक मात्रै जोड्दा आर्मीले दोस्रो सेटमा बाजी मारेको थियो । दुई सेट जितिसकेको अवस्थामा उच्च मनोबलका साथ खेलेको आर्मीले तेस्रो सेट पनि २५–२१ ले पक्षमा पार्दै प्रतियोगिताको पहिलो खेलमा सुखद् नतिजा निकालेको हो । यससँगै आर्मीले समूह ‘ए’ मा ३ अंक जोडेको छ ।

यो समूहमा आर्मी र दावालीसँगै मणि मुकुन्द भलिबल क्लव रहेका छन् । प्रतियोगिता अन्तर्गत आईतवार नै पुरुषतर्फ समूह ‘सी’ को खेलमा नेपाल पुलिस क्लवले न्युटन भलिबल एकेडेमीलाई २५–१६, २५–१७ र २५–१६ ले पराजित ग¥यो । यससँगै पुलिसले पनि आईतवारबाट शुरु भएको प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

यस जितपछि पुलिसले समूह ‘सी’ मा ३ अंक जोडेको छ । यो समुहमा पुलिससँगै गण्डकी, न्युटन, ढोरपाटन र गण्डकी रहेका छन् । प्रतियोगिता अन्तर्गत आईतवारै सम्पन्न महिलातर्फको प्रतिष्पर्धामा आर्मीले कृष्ण सेकेण्डरी एकेडेमीमाथि एकतर्फी खेल देखायो ।

पहिलो सेटमा २५–३ को न्युन स्कोरबाट नतिजा निकालेको आर्मीले दोस्रो सेटमा २५–५ र तेस्रो सेटमा २५–१० को एकपक्षीय नतिजा निकाल्यो । यस जितसँगै आर्मीले समूह ‘बी’ मा ३ अंकको खाता खोलेको छ । आर्मी सम्मिलित समूहमा अर्को विभागीय टोली एपिएफ, गण्डकी प्रदेश, कृष्ण सेकेण्डरी एकेडेमी छन् ।

दिनको पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिसले नयाँबजार समाजिक युवा क्लवलाई पनि १० स्कोर भित्र समेट्दै सोझो सेटमा जित निकाल्यो । पहिलो सेटमा २५–१० को स्कोरमा नतिजा निकालेको पुलिसले दोस्रो सेटमा २५–६ र तेस्रो सेटमा २५–८ को नतिजाबाट खेल जित्दै सुखद् शुरुवात गरेको हो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com