
काठमाडौं । लिग चरणका सबै खेलमा स्पष्ट जित निकाल्दै सुदूरपश्चिम प्रदेश र प्रदेश १ प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेका छन् ।
इटहरीको जनता पार्कमा सम्पन्न दिनको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले विभागीय टोली एपिएफ क्लवलाई चार विकेट तथा प्रदेश १ ले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका हुन् ।
दुवै टोली समूह विजेता बन्दै अन्तिम चारमा प्रवेश गर्दा पराजय भोगेको एपिएफ समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगितामा अब समूह बी बाट उपविजेताको टुङ्गो लाग्न बाँकी छ । प्रदेश १ ले सबै खेलमा स्पष्ट जित निकाल्दै समूह विजेता बन्दा दोस्रो र तेस्रो स्थानमा समान २/२ अंक जोडेका टोलीद्वय लुम्बिनी र मधेसबीचको भिडन्तपछि उपविजेताको टुङ्गो लाग्नेछ । दुवै टोली बुधवार प्रतिष्पर्धा गर्दैछन् ।
बुधवार समूह चरणका अन्तिम खेल हुनेछन् । दिनको पहिलो खेल मधेस प्रदेश र लुम्बिनी तथा दोस्रो खेल वागमती प्रदेश र गण्डकी प्रदेशबीच हुनेछ ।