महिला साफ यु–२० तयारीः स्वाभाविक खेलबाट उपाधिको अपेक्षा

महिला साफ यु–२० तयारीः स्वाभाविक खेलबाट उपाधिको अपेक्षा

बंगलादेशको ढाकामा आयोजना हुने साफ यु–२० महिला च्याम्पियनसिपका लागि केन्द्रित रहेर नेपाली महिला टिम यतिबेला बन्द प्रशिक्षणमा व्यस्त छ ।

अर्को महिना फेब्रुअरी ३ तारिखदेखि ९ तारिखसम्म चल्ने प्रतियोगितामा चार राष्ट्रले प्रतिष्पर्धा गर्दैछन् । उपविजेता भन्दा माथि उक्लिन नसकेको नेपालले प्रतियोगितामा उपाधिको लक्ष्य लिएको छ ।

दक्षिण एशियाली राष्ट्रहरुको प्रतिष्ठित प्रतियोगिता साफ फुटबल अन्तर्गतगको महिला यु–२० को चौथो संस्करण बंगलादेशको ढाकामा आयोजना हुँदैछ ।

फेब्रुअरी पहिलो साताबाट आयोजना हुने प्रतियोगितामा आयोजक बंगलादेशसहित भारत, भुटान र नेपालले सहभागिता जनाउँदैछन् । सोही प्रतियोगिताका लागि सबै देशले तयारीलाई तिब्रता दिइरहँदा नेपाली टोलीले पनि तयारीलाई तिब्र बनाएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा नेपाली टोली दिनहुँ ३/४ घण्टा अभ्यासमा व्यस्त रहँदै आएको छ । अघिल्ला संस्करण साफ यु–१८, साफ यु–१९ नाममाबाट आयोजना हुँदै आएको यो प्रतियोगिता अहिल भने यु–२० बाट हुँदैछ ।

अघिल्लो इतिहास हेर्दा उपविजेता भन्दा माथि उक्लिन नसकेको नेपाली महिला टोली ढाकामा आयोजना हुने चौथो संस्करणमा च्याम्पियन बन्ने लक्ष्यका साथ तयारीलाई तिब्रता दिइरहेको मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले बताउनु भयो ।

तीन साता अघिबाट अभ्यासमा जुटेको नेपाली टोलीले कठिन अभ्यससँगै केही मैत्रिपूर्ण खेलबाट अभ्यास बटुलेको छ । मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले तीन साताको अभ्यासबाट टोलीको प्रदर्शनमा उल्लेख्य सुधार आएको बताउनु भयो ।

यसअघि पनि सहभागिता जनाउँदै आएको नेपालले यस संस्करणमा बलियो भारतसहित बंगलादेश र भुटानबिरुद्ध राम्रो खेल खेल्ने अपेक्षा राखेको छ । शुरुवाती १५ दिनमा प्राविधिक विषयमा गृहकार्य गरेपछि उल्लेख्य सुधार आएको भन्दै मुख्य प्रशिक्षक गुरुङले अहिले खेल शैलीको बारेमा अभ्यास गराइरहेको बताउनु भयो ।

प्रतियोगिता खेल्नका लागि खेल शैलीमा परिवर्तन गर्न चाहे पनि छोटो अवधि भएकाले पुरानै शैलीलाई नै निरन्तरता दिने प्रशिक्षका गुरुङले जानकारी दिए ।

नेपाली राष्ट्रिय टोलीकी सदस्य प्रिति राईले पनि प्रतियोगिताको तयारी विगतको भन्दा भिन्न र राम्रो भएको भन्दै राम्रो गर्नेमा आपूm आशावादी भएको बताउनु भयो ।

प्राविधिक र मानसिक हिसाव दुवै पक्षमा केन्द्रित रहेर अभ्यास गरिरहेकोले ढाकामा हुने प्रतियोगितामा राम्रो नतिजा निकाल्ने पक्षमा रहेको बताउनु भयो । प्रतिष्पर्धी टोली भारत र बंगलादेशमा अनुभवि र यु–१७ विश्वकप खेलेका खेलाडी भएपनि नेपाली टोलीले स्वभाविक खेलबाट सुखद् नतिजाको लक्ष्य राखेर तयारी गरेको खेलाडी प्रिति राईले बताउनु भयो । 

कुनै समय दक्षिण एशियामा बलियो टोली गनिने नेपाली टोलीले अन्य दक्षिण एशियाली टोलीको तुलनामा अघि बढ्न नसकेको केही पछिल्ला प्रतियोगिताका नतिजाबाट प्रस्ट छ ।

सँगै एन्फाले योजनाअनुरुप प्रतियोगिता सञ्चालन गर्न नसक्दा खेलाडीले अनुभव लिने मौकाबाट टाढिरहेका छन् । प्रतियोगिता आयोजना हुने निश्चिततासँगै अभ्यास थालनी गर्ने प्रचलन पुरानै हो । जसका कारण नतिजा टाढिरहेको अवस्थामा प्रशिक्षक यामप्रसाद गुरुङले नेतृत्व तहबाट नै महिला टोलीको खेल स्तर सुधार गर्न ठोस कार्यक्रम नभएको बताउनु भयो । 

नेपालले लगातार चौथो पटक सहभागिता जनाउन लागेको प्रतियोगिता फेब्रुअरी ३ देखि ९ तारिखसम्म आयोजना हुँदैछ र तालिका पनि सार्वजनिक भइसकेको छ ।

सार्वजनिक तालिका अनुसार नेपालले पहिलो खेल बंगलादेशसँग फेब्रुअरी ३ मा खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ भने सोही दिन भारत र भुटानबीच पनि खेल हुनेछ ।

त्यसको दुई दिनपछि फेब्रुअरी ५ मा नेपालले भुटानसँग र फेब्रुअरी ७ मा भारतसँग लिगको अन्तिम खेल खेल्नेछ । सिंगल राउण्ड रोबिन प्रणालिमा आयोजना हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com