१९ जिल्ला ‘नमुना दूरसञ्चारयुक्त’ बन्ने

१९ जिल्ला ‘नमुना दूरसञ्चारयुक्त’ बन्ने

काठमाडौं । नेपाल टेलिकमले अत्याधुनिक प्रविधिको प्रयोग गरेर १९ नमूना जिल्ला दूरसञ्चारयुक्त बनाउने घोषणा गरेको छ । यस्ता जिल्लाका सबै वस्तीहरु, राजमार्ग, पर्यटकीय तथा धार्मिक स्थलहरुमा गुणस्तरीय दूरसञ्चार सेवाहरु प्राविधिक रुपमा सम्भव भएसम्म उपलब्ध गराइने नेपाल टेलिकमले जनाएको छ ।

देशका सबै जिल्लाहरुमा यसैगरी सेवा उपलब्ध गराउने कम्पनीको लक्ष्य रहेको बताइएको छ । हाललाई पहिलो चरणमा मोरङ, खोटाङ, उदयपुर, धनुषा, रौतहट, मकवानपुर, सिन्धुली, कास्की, गोर्खा, दाङ्ग, गुल्मी, सुर्खेत, जुम्ला, कैलाली, बाजुरा, रुकुम पश्चिम, जाजरकोट, बर्दिया र रोल्पा जिल्लामा कम्पनीले नमूना सेवा उपलब्ध गराउने भएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हाल सेवाका दृष्टिबाट नमूनाका रुपमा कायम गरिन लागिएका जिल्लाहरुमा आवश्यकता बमोजिम तत्काल थप पूर्वाधार तथा उपकरण विस्तार स्ट्याण्डर्ड सेट्स तथा सेवाहरु कायम हुनेगरी नेटवर्क स्थापित गरिनेछ ।

यी स्थानहरुमा निरन्तर गुणस्तरीय सेवा उपलब्धताको लागि प्राविधिक तथा भौगोलिक दृष्टिकोणले सम्भव भएसम्म नवीन प्रबिधि र नेटवर्क पूर्वाधार तय गरिनेछ । ती जिल्लामा औसत ९० प्रतिशतभन्दा बढी मानव वस्तीमा गुणस्तरीय मोबाइलका साथै एनटी फाइबर सेवा उपलब्ध गराइने छ । सबैतिर तोकिएकै गुणस्तर र गतिमा सेवाको उपलब्धता कायम गर्न अतिरिक्त योजना समेत बनाएर आवश्यक दक्ष जनशक्तिको उपलब्धता पनि निरन्तर हुनेछ ।

नमूना जिल्लाहरुमा सेवाग्राहीले दूरसञ्चार सेवा खरिद गर्न, जडान तथा मर्मतसम्भार, महशुल भुक्तानी जस्ता सेवाहरु प्राप्त गर्न कम्पनीका कार्यालयमा उपस्थित नभईकन फोनबाट कल सेन्टरमार्फत सेवासम्बन्धी सबै कार्य गर्न सकिने व्यवस्था गरिनेछ । यसमा सेवासम्बन्धी कुनै गुनासो वा सिकायत रहेमा शीघ्र सम्बोधन गरी सेवा सञ्चालन गर्ने कार्य हुनेछ । बिना अवरोध सेवा प्रवाहका लागि सरोकारवाला निकायहरु विद्युत प्राधिकरण, खानेपानी, सडक लगायतका निकायहरुसँगको आवश्यक समन्वयमा पूर्वाधार निर्माण र सेवा विस्तारका कार्यहरु सम्पन्न गरिनेछन् ।’

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com