हुम्लाको लिमीमा निर्माण हुने भयो फोर जी टावर

हुम्लाको लिमीमा निर्माण हुने भयो फोर जी टावर

हुम्लाको विकट मानिने उत्तरी नाम्खा गाउँपालिकाको वडा नं.- ६ लिमीमा रहेको लिमी भ्याली पर्यटकीय गन्तव्यका लागि जिल्लाकै उत्कृष्ट मानिँदै आएको छ । लिमीको लाप्चाबाटै मानसरोवर कैलाश दर्शनका लागि बर्सेनि आन्तरिक तथा विदेशी पर्यटकहरू यस क्षेत्रमा पुग्ने गर्छन् ।

तर, लिमीमा संचारका उपायमा अवरोध भइरहँदा यहाँका स्थानीय र पर्यटकलाई समेत सास्ती भइरहेको छ ।

यसै समस्याको समाधान गर्न नेपाल टेलिकमको फोर जी टावर निर्माणका लागि हेलिकोप्टरबाट सामान ढुवानी गरिएको छ ।

विगत लामो समयदेखि लिमीमा टावर नहुँदा संचारमा जोडिन नसकेका लिमीका स्थानीयलाई संचारमा जोड्नका लागि फोर जीको टावर निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए ।

अध्यक्ष लामाले भने, 'स्थानीयहरू संचारमा जोडिन पाउने आशामा धेरै समयसम्म रहेका थिए । अथक प्रयासपछि बल्ल सपना पूरा हुने क्रममा छ । मान्छेले बोक्न सक्ने अवस्था नभएकाले हेलिकोप्टरमार्फत सामान ढुवानी गरिएको हो ।'

टावर निर्माणका लागि सामान सहज ढुवानी गर्ने सकिने अवस्था नरहेका कारण बढी तौल भएका सामग्री हेलिकोप्टरमार्फत ढुवानी गरिएको बताइएको छ । टावर निर्माणका लागि सोलार सिस्टमका उपकरणहरू सिम्रिक एयरको हेलिकोप्टरमार्फत ढुवानी गरिएको हो ।

लिमीमा रहेका तिल र हल्जी गाउँ नजिकमा पर्ने अग्लो डाँडामा टावर निर्माण गरिने भएको छ । ठेक्का टेण्डरबाट टावर निर्माण हुन लागेको हो भने हेलिकोप्टरको सामान ढुवानी खर्च गाउँपालिकाले तिरेको बताइएको छ ।

फोर जी टावर निर्माण पछि संचालनमा आएपछि यहाँका स्थानीय मात्र नभएर यस क्षेत्रमा पुग्ने पर्यटकहरू समेत संचारमा सहजै जोडिन पाउने भएका छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com