
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भरमा समस्या आउँदा दुई घण्टा सेवा प्रभावित भएको छ । सर्भरले काम गर्न नसक्दा उडानका लागि पुगेका यात्रुले सास्ती बेहोर्नुपर्यो ।
अध्यागमन विभागका निर्देशक खिमराज भुसालले राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट उपलब्ध हुने सर्भरमा समस्या आएको हो । कम्प्युटरले काम गर्न नसकेपछि कागजी विवरणकै आधारमा यात्रुलाई पठाइएको विभागले जनाएको छ ।
अध्यागमनका कर्मचारीले हातले लेखेर भिसासम्बन्धी सेवा दिएका थिए । १०:३० बजे बिग्रिएको सर्भरले १२:३० बजेसम्म काम गरेको थिएन । कसैको उडान नछुटेको तर केही ढिलाइ भएको विभागले जनाएको छ । सर्भर बिग्रिएपछि विदेश जाने र फर्किने यात्रुको राहदानीमा छाप लगाउने, भिसा दिने, जरिवानालगायत राहदानीसँग सम्बन्धित काममा ढिलाइ भएको थियो ।
उता राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक प्रदीप शर्मा पौडेलले केन्द्रको सर्भरबाट नभई विभागकै प्राविधिक समस्या भएको दाबी गरे । विमानस्थलको यसअघि पनि सर्भरमा समस्या आउँदा सेवा प्रभावित भएको थियो । सर्भरमा समस्या दोहोरिने गरे पनि समाधानका लागि सरकारले खासै प्रयास गरेको छैन ।