एजेन्सी । भारतीय पत्रकार रवीश कुमारले एनडीटिभी छाडेका छन्। एनडीटिभीमा अडानी समूहको प्रवेश भएसँगै रवीशले राजीनामा बुझाएका बिबीसीले जनाएको छ। रवीश कुमार भारतमा प्रशिद्ध पत्रकारका रुपमा चिनिन्छन् ।
यही वर्षको अगस्टमा अडानी समूहले एनडीटिभीको २९.१८ प्रतिशत शेयर खरिद गरेको थियो। अडानी समूहको प्रवेश भएसँगै एनडीटिभीबाट केही प्रमुख व्यक्तिहरु बाहिरिन सक्ने अनुमान गरिएको थियो।
रवीश कुमारको राजीनामा तत्कालै स्वीकृतसमेत भइसकेको छ। एनडीटिभी ग्रुपकी अध्यक्ष सुपर्णा सिंहले कर्मचारीहरुलाई पठाएको इमेलमा त्यसको जानकारी दिइएको छ।
प्रणय रोय र राधिका रोयले एनडीटिभी सञ्चालन गरिरहेको आरआरपीआर होल्डिङ प्राइभेट लिमिटेडले डाइरेक्टरबाट राजीनामा दिएको एक दिनपछि रवीशको राजीनामा आएको हो।
राजीनामा दिएपछि रवीश कुमारले एक भिडियो सन्देश जारी गरेका छन्। जसमा उनले भनेका छन्, ‘भारतमा पत्रकारिताको स्वर्ण युग कहिल्यै थिएन। तर अहिलेको जस्तो भस्म युग पनि थिएन, जसमा पत्रकारिता पेशाका हरेक राम्रा कुरा भस्म हुँदै गइरहेको छ।’
उनले सरकारको गुणगान गाउने मिडियाको निरन्तर विरोध गरिरहने पनि बताएका छन्।
आफूले एनडीटिभीमा २६–२७ वर्ष बिताएको भन्दै उनले कैयौँ शानदार याद एनडीटिभीसँग जोडिएको बताएका छन्। उनले अब युट्युबमार्फत आफ्ना कुरा भन्ने पनि जानकारी गराएका छन्।
म्यागासेसे पुरस्कार विजेता उनले अल्पसंख्यकमाथि सरकारको रवैया र भारतीय टेलिभिजनले गर्ने सरकारको गुणगानको निरन्तर विरोध गर्दै आएका छन्।