समाचार

कैलालीका ६५ जनप्रतिनिधिले रोजे नेकपा (एस)

Daily News Nepal

धनगढी, २२ भदौ

कैलालीबाट तीन जना उपप्रमुख, १२ जना वडा अध्यक्ष, नौ जना कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिका उपाध्यक्षसहित ६५ जनाले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । दल रोज्न पाउने अन्तिम दिन मंगलबारसम्म कैलालीका ६५ जनाले नेकपा (एस) रोजेका हुन् ।

कैलालीका १३ वटा स्थानीय तहमध्ये आठ स्थानमा एमालेले प्रमुख पद जितेको थियो । आठमध्ये छ स्थानमा प्रमुख, उपप्रमुख एमालेले जितेको थियो । एमालेबाट निर्वाचितमध्ये कैलालीको गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत, घोडाघोडी नगरपालिकाकी उपप्रमुख प्रेमाकुमारी थापा र मोहन्याल गाउँपालिकाकी उपप्रमुख पूजादेवी बुढा मगरले नेकपा (एस)मा सनाखत गरेका छन् ।

कैलालीमा एमालेबाट निर्वाचित आठमध्ये सातवटा स्थानीय तहका प्रमुख एमालेमै रहेका छन् । एमालेबाट निर्वाचित मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ ।

कैलालीको चुरे गाउँपालिका, गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका, लम्कीचुहा नगरपालिका र मोहन्याल गाउँपालिकामा एमालेले प्रमु र उपप्रमुख पद जितेको थियो । टीकापुर नगरपालिका र भजनी नगरपालिकामा एमालेले प्रमुख पद मात्र जितेको थियो ।

एमाले फुटेपछि गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिका र मोहन्याल गाउँपालिकाका उपप्रमुख नेकपा (एस)मा लागेका हुन् ।

नेकपा (एस) रोज्ने वडा अध्यक्षहरूमा गौरीगंगा नगरपालिका- २ का वडा अध्यक्ष जनक साउँद, वडा नम्बर- ५ का अध्यक्ष जंग बिक, वडा नम्बर- ७ का अध्यक्ष दलबहादुर कुमाल रहेका छन् ।

यसैगरी घोडाघोडी नगरपालिकाबाट वडा नम्बर- ४ का अध्यक्ष टेकबहादुर बुढा, वडा नम्बर- ७ का अध्यक्ष धनबहादुर बम, वडा नम्बर- १० का अध्यक्ष भीम बमले नेकपा (एस) रोजेको जिल्ला निर्वाचन कार्यालय धनगढीले जनाएको छ ।

लम्कीचुहा नगरपालिकाबाट वडा नम्बर- ८ का अध्यक्ष पूर्ण विष्टले मात्र दल त्याग गरेका छन् भने टीकापुर नगरपालिका- १ का अध्यक्ष गंगाराम आचार्य, गोदावरी नगरपालिका- ५ का अध्यक्ष कर्णसिंह बोहरा र वडा नम्बर- ११ का अध्यक्ष शिव बिकले नेकपा (एस) रोजेका छन् । यसैगरी मोहन्याल गाउँपालिका- ४ का अध्यक्ष टेकेन्द्र बोगटी र धनगढी उपमहानगरपालिका- १४ का अध्यक्ष राम बजारी चौधरीले पनि एमाले परित्याग गरी नेकपा (एस) रोजेका छन् । कैलालीमा एमालेबाट ३८ जना वडा अध्यक्ष विजयी भएका थिए ।

यसैगरी जिल्ला समन्वय समिति कैलालीकी उपाध्यक्ष सुन्दरीदेवी चौधरीले पनि नेकपा (एस) रोजेकी छन् । एमालेबाट निर्वाचित कैलालीका ४९ जना वडा सदस्यले नेकपा एस रोजेका छन् ।

Nepal Bans Import and Sale of Everest and MDH Spices Due to Pesticide Concerns

Physical altercation in Nepal's House of Representatives over financial misconduct inquiry

PM Prachanda Optimistic About Resolving Parliamentary Obstruction

Nepali Congress to Obstruct House Proceedings Over Fraud Case Handling

35th NepalDay: Longing for Change - Just a Dream? Event in Cologne, Germany